Thursday, October 29, 2009

गजल

अर्पिए प्रेम भेटी, नदेख्ने ऊ कस्तो ।
गरेनी प्रेम भक्ति, नसुन्ने ऊ कस्तो ।।

जोतेर खेत सम्म, हराभरा बाली !
ओहो! प्रेम खेती नगर्ने ऊ कस्तो ।।

आहा !बर्सूलाँ साउन, रसिलो जल ,
रोप प्रेम भन्दा, नगन्ने ऊ कस्तो ।।

जीवन पार लाउने प्रेम हो पुल,
गाँस्न कुन्नि किन नमान्ने ऊ कस्तो ।।

जति गाए, बजाए नि प्रेमको धून,
बरा! शर्मले पो ननाच्ने ऊ कस्तो ।।

Saturday, October 24, 2009

गजल

लाटो बोली मेरो गाउने गीत तिम्रो हजुर ।
झुपडी यो मन सजाउने प्रीत तिम्रो हजुर ।।

भत्किजाने बालुवाको बाँध यो होइन,ठानी,
तनको पुष्प जन चढाउने रीत तिम्रो हजुर ।।

कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊ,
खुशी भइ सब रमाउने जीत तिम्रो हजुर ।।

हाहाकार छ सबैतिर खडेरीले सताएको,
पिए थोपा 'बल' जगाउने शीत तिम्रो हजुर ।।

Wednesday, October 21, 2009

पाँच हाइकु

१.रातो बत्तीमा
लुसुक्क बाटो काट्छ
छाडा चौपाया !

२.राता गाल्लीमा
राता मनको भीड
रंग विहीन !

3.नाङ्गो पहाड
बाटो छेकेर बस्छ
काम न काज !

४.पूर्णेको जून
आँखा भरी सजाएँ
प्यासको मूल !

५.चिसा रातमा
सिरकले छोपिए
मन त चिसै !

Monday, October 12, 2009

गजल

छाती भित्र-भित्रै राखी सजाउने रहर मेरो ।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

पवनका लहरमा लहराएको केसराशी ,
फूल सुस्त-सुस्त सजी सुम्सुम्याउने रहर मेरो ।।

गुलाबका पत्र बनी मन हर्ने ती ओंठ ,
भाव मन्द-मन्द बोली फुस्फुसाउने रहर मेरो ।।

मनोरम हिमशैल डुल्दै जीवन कुण्ड,
गीत चिर्बिर-चिर्बिर गाइ गुन्गुनाउने रहर मेरो ।।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

कविता: फर्किने आशमा

आयौ, ढोका खट्खटायौ
ओहो! नभन्दै भित्र पस्यौ
कहिले लुकी-छिपी
कहिले चोरी-छिपी

चिर्बिरायौ, मयूर नाच्यौ
ओहो! नभन्दै लट्ठ बनायौ
घरि-घरी, छम्छमी
असिन-पसिन

गड्गडायौ, झरी बर्सेऊ
ओहो! नभन्दै छपक्क भिजायौ
सपनी-बिपनी
बादल सुन्दर-चंचल

फुलायौ, हावा चलायौ
ओहो! नभन्दै कोपिला खसायौ
हँसायौ-रुवायौ
छाप लायौ

गयौ, ढोका ढप्काइनौ
ओहो! चुपचाप-चुपचाप
न दिन न रात
बात लायौ

अर्को पाटो मनको
रंग-ढंग, तरंग
ओहो! फर्किने आशमा
चलेको सास
संसारको माझ !

खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

असहाए गारिब वस्ती
पहिरोमा सिनित्तै भाँसियो
अनिकालको बेला
बहुलाएको बाढी
पस्यो आँखा चिम्लेर
खेतबारी र घरबारी
बिनाकरण; निर्दोश पिर्यो , लियो ज्यान
समुद्री तुफान मृत्युको शंख सुसेल्दै
उडायो कत्तिका बर्षौं लगाइ
उनेका सपनाका टहरा
यतै कतै म दुखिरहेको थिए
विज्ञानका मोटा किताब भित्र
कारण खोजिरहेको थिए

भित्ताको गोलो घडी हेर्छु र
संकेत गर्छ, अर्को घण्टाको
नजानिंदो पाराले समय घर्केको
म त्यो समय कल्पिन्छु
जहाँ हामी अन्तको प्रतिक्षामा हुनेछौं
डराउछु, अब पृथ्वी
मरभूमी हुनेछ
सारा यी जैविक चीजहरुको
प्रलय हुनेछ
यसलाई बिभिन्न व्याख्याताहरुले
आ-आफ्नै हिसाबले आफू ठूलो देखाउने बहनामा
शब्दमा प्रमाणित गर्नेछन्
विज्ञान भन्छ, यो हरित गृहको प्रभाव हो
धर्म भन्छ, यो भगवानको इच्क्षा हो

मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

ओहो ! आकाशमा उड्ने बस दुर्घटना
ज्यान सधैंकालागि, बिना मोल उडाउने
भिरबाट लडेको बाहनसंगै
कति दूरका यात्रीहरु, बिना संकेत
यात्रामा विराम लाउने
कहिले नउठ्ने गरी, उठे जिन्दगी बोझ
सम्झिन्छु, ती बाहन
जो आकाशबाट यमराज गर्जिन्छन्
र गरीब वस्ती खाक हुन्छन्
कालो मुश्लो उँभो लाग्छ
म सडक किनारै-कीनार
हिडिरहेको छु
सडकमा बाहन बेगसँग
कुदिरहेका छन्
मलाई तिनका हर्न, शंख झै लाग्छन्
अन्तको संकेत नजिक भएझैं
समय यसरी नै कुदिरहेको
संकेत-बिना संकेत
मर्छन्, निर्दोष
व्यख्या हुन्छ
घटनाको, आतंकको वा स्वार्थको

मेरो ध्यान कहीं मोडिन्छ
मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

म कोठामा छु
बिधुतीय सुबिधाका भरमा
संसार भरका खबर हेर्छु
पचाउने कोसिस गर्छु
मान्छे; मान्छेलाई दोष लाइरहेको छ
मान्छे; मान्छेलाई डसिरहेको छ
मान्छे; मान्छेलाई ढाँटिरहेको छ
मान्छे; मान्छेलाई चपाइरहेको छ
आफ्नो स्वार्थकालागि
मान्छे आफू र आफ्नो भगवानलाई
धोका दिइरहेको छ
युद्धको जताततै रन्को छ
कतै मुक्तिको नाममा
कतै रक्षाका नाममा
कतै आफू राज गर्ने नाममा
म डराउछु
अर्को विश्व युद्धको संकेत नहोस !
समय रातको संकेत गर्छ

मेरो टेबल थर्किन्छ
मेरो ध्यान कहीं मोडिन्छ
मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

खबर मेरी प्रेमिकाको हो
एकदिन मैले सोद्धा
उनले भनेकी थिइन-
दुर्घटनामा पर्लौ भनेर
मैले कहाँ झस्काएको हो र !
म अल्मल्ल परेथें
उनको व्याख्या थियो-
पुरुष मेरो मन
कतै रंगीन पच्छेउरीमा अल्झिन सक्छ अरे!
उनलाई इर्ष्या लाग्छ अरे !

Wednesday, October 7, 2009

गीत

दुखेका यी रात बीच स्वप्न बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

थाकेका छन् पाइला मेरा उकाली र ओरालीमा ,
रोएका छन् भाखा मेरा भञ्ज्याङ र चौतारीमा ।
हिमालका आसुँ खोस्न उष्ण बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

खोसेका छन् हाँसो मेरा उज्यालोको नाउँमा ,
डसेका छन् बन्धु मेरा मेरै घर आँगनमा ।
शोकका यी घडी किन दर्शन बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

गजल

जुनी-जुनी साथ दिने मित्र भेटियो ।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

मुर्झाउदै'थ्यो आश तर मन डरेन,
धर्ती-आकाश जोड्ने पुल पत्र भेटियो ।।

कोलाहल दुनिँयाको झेल्नु पर्ने खेल,
जित्ने बाजी अहिंसामै अस्त्र भेटियो ।।

मनको बन्द ढोका खोली छर्ने उज्यालो,
शब्द-शब्द धुन गुन्जिने स्तोत्र भेटियो ।।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

गजल

फूल जस्तो जवानी त्यो, हर्ने मन मेरी ।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।

न हेरु त लाग्छ कतै, यी आँखाको दया ,
सजाए जो कैद देख्छु , पर्ने मन मेरी ।।

शिरमाथि सजाउने, साँचो मनको धोको ,
किन-किन छुन पनि, डर्ने मन मेरी ।।

देख्छु भुन-भुन भँवरा ती, गीत तिम्रो गाउँने ,
लाटो मेरो गीत मनमै , मर्ने मन मेरी ।।

मुस्काउनु पर्छ तिमी , मेरो ओठको भाव,
चमक तिम्रो झिल्का यहाँ , सर्ने मन मेरी ।।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।

चेतना बन्धकी राखेर !

(कविता)
विश्वासमा बाँच्ने मान्छे हामी
बाँचिदिन्छौ , एक जिन्दगी !

भनेको र सुनेको कुराका भरमा
तर्सिन्छौं हामी जब
अनि पस्छ , साँच्चै गाउँमा भूत
अस्ति , तल्ला घरे खस्यो !
पोहोर , माथ्ला घरे गएथ्यो !
कर्मको खेल हो , भनिऊँ !

सधैं-सधैं गाउँमा जब
आउँदै-लाँदै गर्छ भूत
र लखतरान पार्छ अनि सकाउँछ जीवन लीला
हामी भनिदिन्छौ , भावीको लेखा हो
कसको के लाग्छ !

पुराना मान्यतामा बाँचेका;पछौटे हामी
जब बच्चाको जीउ कुपोषणले सुक्छ
अनि गर्छौ , झार-फुक
जब जवान युवतीको दुख्छ ज्यान; रक्तश्रावले ,
अनि ठान्छौ
लागेको होला , सिमे-भुमे भनेर
खोज्छौ ;झाक्री र ठटाउँछौ; ढ्याङ्ग्रो

अहिले गाउँमा अलिकति शिक्षाको उज्यालो
अलिकती चेतना आयो
फाट्ट-फुट्ट अस्पातल पुगे र
थोरै भए पनि भूत गाउँ पस्न छोडेको बेला
भूत गाउँबाट लखेटिदैं गएको बेला

जिउँदै मान्छे बनेर भूत फेरी
गाउँ , जङ्गल , शहर
जताततै पसिरहेछ
मसानमा बदल्न खोजी रहेछ
देश
तब हामी भूत भगाउन
पुन: निकाल्छौ , ढ्याङ्ग्रो र
ओर्लिन्छौं सडकमा
पुरातनवादी हामी , रक्षा गर्न हाम्रा चलन
भत्काउछौं ;रेलिङ र बाल्छौ; टायर
तर भूत कहिले भाग्दैन
नियम लाग्छ " डार्बिन"को यहाँ
भूत बलिया बन्दै जान्छन्

अब कतिन्जेल यस्ता
हल्लाका भरमा बाँचेर , जिन्दगी ढ्याङ्ग्रो बनाउने
चेतना बन्धकी राखेर !

विज्ञापन : असल, गुणी गोरुको खोजी !

(कविता)
बहर , गोरु अति उपयोगी हुन्
गोबरको मल हुन्छ
खेतमा हाले बालीनाली सप्रिन्छ
जोते खेत उब्जिलो बन्छ
गाडा तान्न लाए , भारीको चिन्ता दूर
गाई बाली बनाइन्छ , अर्को काइदा
भन्नै पर्दैन !

हामी गोरुका सौखिन
कहिले त गोरुसँग आफ्नो इज्जत गँसिन्दिन्छौ
जुधाउछौं गोरु र हेर्छौं रमिता
गोरु र हाम्रो नाता जनम-जनमको
हो त , गोरु पूजा पनि गर्छौ
कृषिमा आश्रित हामी
गोरुमा आश्रित हामी !

जमाना भौतिक युगको
खेत जोत्ने काम , यन्त्रले गर्न शुरु भा'छ
गाडा पनि त पुराना कुरा जस्ता
मल - जैविक, विकासे र के-के !
विकाशोन्मुख देशका हामी
नछोए पनि यिनले
छिटा परेको छ
ठिकै छ ,
गोरुसँगको नाता अनि निर्भरता
कायम छ , बलियो छ !

गोरुका भिन्न-भिन्न जात
पहाडका छोटो कदका गोरु
रोपाइ गर्दा अलि काम नदिने
केही वर्ष अघिको कुरा हो
हाम्रोमा तराइको गोरु पनि एक हल पालियो
पहाडको छदैं थियो

गोरुका व्यवहार फरक-फरक
जुरो फुटेका , नफुटेका
जाति-नजाती , सिङ्ले हान्ने , लात्ताले हिर्काउने
सिंगौरी खेल्ने , कोखाँ हिर्काउने
जे होस्
फुर्तिला , लुरे , जुझारु आदि !
रङ -काले, सेते, झाले-माले इत्यादि !

हाम्रो घ्ररमा कहिले जोडा मिलाउन सकेनौं , गोरुको
कहिले ज्यान मिलाए , आपसमै लड्ने
कहिले फुर्तिला भेट्टाए , उचाइ नमिन्ले
कोही पाखोमा चल्ने , हिलोमा थुछुक्कै
कोही हरिया देख्नै नहुने
बार भत्काएरै , अर्काको बारीमा पस्ने

केही पहिले जाती थिए
आजभोलि बुढा भै'सके
जोश त छ तिनमा तर शक्ति छैन
खेत जोत्ने
यी अझै जौ देख्यो कि , काँध थाप्छन्
धर्म संकटमा म
यिनलाई विश्राम दिनु छ
वा कसाइ खानामा !

के गर्ने !
अप्ठ्यारोमा छिमेकी सम्झिनु भन्थे
आफ्ना गोरुले खेत जोत्न नसकेका बेला
छिमेकबाटै भए पनि गोरु लिएर
खेत जोत्ने सुरमा यसपाली !
बाँझो छाडे धर्तीको पाप !

गोरु पीडित म
उचित गोरुको खोजमा अहिले
छापामा विज्ञापन गर्दैछु
असल , गुणी गोरु भए
कृपया, खबर गर्नु !
तपाईंको भलो हुनेछ !