मौसम पात्तिएको यो
पटक्कै मन नपर्ने पल
खोइ, के भएको आजकाल !
नाङ्गा पहाडहरु भएकाछन्; दलदल
पाइला चाल्नै गार्हो !
बेकामको झरी यो
चिसोको सन्नाटा बोकेर ल्याउने
हिउँदको बर्सिने जल
सडक किनारतिर बगेको भल
बाटोको जाम तमाम !
लागेको खडेरी थलमा
जल,मलको अभाव
उजाड मनहरुको कोलाहल
उर्लँदो खहरे गड्गड
जन,धनको नाश !
हुर्हुराउँदो अग्नी ज्वाला
कलहको आगो झोस्छ,
गन्हाउँछ, कलको मूल
मानवता कलसँग रुमल्लिएको यो समय
बाटो खोज्छ, छलफल !
चलेको आँधी-हुरी,
चराका बस्तीमा हलचल
मनमा उठ्दोछ, ज्वालामुखी
तनमा पसिना खलखल
सुनिन्छ, स्रिजनशील चलमल; कलकल !
~खगेन्द्र अधिकारी ''अमृत"~
14 years ago