Monday, August 23, 2010

वादको बखान

वादको बखान गरेर
निर्विवादको परिकल्पनामा
नयाँ विवादको चुली कसिन्छ
खेतका आली र घरका बर्दालीहरुबाट
मृत्‍युको शंखनाद गरेर
विजयोत्सव मानिन्छ !

अपवाद महरु
आवाद हुनुको श्वेत आकांक्षामा
चाँदनीको शीतलता र
सूर्यको उज्यालोको आगमन
घडीका सुईसँगै
टीक-टीक गनिबस्छौं
तर त्यो पेन्डुलमहरुसँगै
बन्दी बनिन्छ !

एकहूल हामीहरु
पेन्डुलमहरुका खातिर
ज्यानको बाजी लाएर
जिन्दावाद र मुर्दावादको
नादहरु उराल्छौ र
रगत पिपासु, कथित मुक्तिदाता
नूतन स्वादको मजामा
लिप्त भैदिन्छ !

जम्छ आसनमा खाओवाद
र हाम्रा उज्यालाका
कलिला स्वप्निल मुनाहरु
हतकडी लाएर जाक्छ
अँध्यारो गुफातिर
त्यसै कुहाइदिन्छ वा
यमहरुलाई खुवाइदिन्छ !


जागरण भया !
मौलाएको भ्रमवाद र विचलनवादको
भयवाद रसायन
ब्रह्मवादको खोजीले
निर्मलिकरण गर्दै
मानवतावाद झुल्किन्छ कि !

गजल

अलि तिमी हार, हारेँ अलि म, जीत होला हाम्रो !
स्वर्ग हुन नसके नि यो धरामा, हित होला हाम्रो !!

धेरै गायौं पीडामाथि, धुनभरि नाच्यौं रटमा,
त्यागि निन्दा गरे काम,सुखको गीत होला हाम्रो !!

तान्ने खुट्टा,लडाउने, खेल बन्दको बेला भयो,
हित्त-चित्त मिलाइ हिंडे पो, उचित होला हाम्रो !!

सद्भाव र शान्ति बोकी, मेची-काली कलकलाए,
दंग-चितपारी बैरी लोभ्याउने रीत होला हाम्रो !!

Wednesday, August 11, 2010

वीर्यदान गर्न सक्दिन म

बिहानी मनोरम छटाको भूमिमा
पहेंलिदै गरेका रवि किरणहरु
पहेंलो समुद्रमा डुबुल्की मार्दा
उत्तरबाट ध्वंसको ध्वाँस र रगतको गन्ध बोकेर
क्षेप्यास्त्र गोता लगाउँछ
त्यहीं कतै युद्धभेदी लडाकु जहाजहरु
शान्तिका प्रवर्तकहरुको इशारामा
प्रतिरक्षाको अभ्यास गर्दैछन्
अबुझ म
चिसिएको शसंकित मन लिएर
सन्नाटा बाँच्छु
आँखीभौँ सल्बलाउँछन् !

हिमाली मनोरम छटाको भूमिमा
बिहानी भालेको डाक नहुँदैं
दूलो पसेका भ्यागुताहरु
ट्वार-ट्वार गर्दै कोकोहोलो गर्छन्
वर्षाको संकेत
खडेरीको मौसममा मेघको महत्व, कठै !

लाचार भएका कोदालाहरु
आकाश नियाल्छन्
जात-प्रजातका भ्यागुताहरुको जोहो गर्छन्

चलेको चलन
ईन्द्र खुशी पार्न, धुमधाम
बिहे गरिन्छ भ्यागुताको
चारै दिशाका पण्डितहरुको मन्त्रोच्चारणमा
खोइ, थोपा खस्दैन आकाशबाट
शीतलताले छुँदैन कतै !
मनमा, तनमा पसिना खल्खली
उफ !


मुस्काउँदै गरेको त्यो बालक
वनकुसुम !
मेरी प्रिय अर्धागिंनीको अंगालोमा खेलाउने रहर
त्यो अधैर्यता
माफ गर प्रिय !यसपाली पनि
वीर्यदान गर्न सक्दिन म
मेरो मनभरि,
आशंका,भ्रम,भय,आक्रोश र जलनको आगो छ
जुन मेरा सन्तानले बोक्न नपरोस
विज्ञान भन्छ, वंषानुगत गुण ।

जहाँ जे भए नि
आऊ, यो साँझ सब बिर्सेंर
समागम गरौं
अलिकति मनको नैरास्यता भगाऔं
प्राकृतिक-अप्राकृतिक
गर्भनिरोधको उपाय कायम राखौं ।

Saturday, December 5, 2009

मौसम

मौसम पात्तिएको यो
पटक्कै मन नपर्ने पल
खोइ, के भएको आजकाल !
नाङ्गा पहाडहरु भएकाछन्; दलदल
पाइला चाल्नै गार्हो !

बेकामको झरी यो
चिसोको सन्नाटा बोकेर ल्याउने
हिउँदको बर्सिने जल
सडक किनारतिर बगेको भल
बाटोको जाम तमाम !

लागेको खडेरी थलमा
जल,मलको अभाव
उजाड मनहरुको कोलाहल
उर्लँदो खहरे गड्गड
जन,धनको नाश !

हुर्हुराउँदो अग्नी ज्वाला
कलहको आगो झोस्छ,
गन्हाउँछ, कलको मूल
मानवता कलसँग रुमल्लिएको यो समय
बाटो खोज्छ, छलफल !

चलेको आँधी-हुरी,
चराका बस्तीमा हलचल
मनमा उठ्दोछ, ज्वालामुखी
तनमा पसिना खलखल
सुनिन्छ, स्रिजनशील चलमल; कलकल !

Sunday, November 15, 2009

गजल

अर्पिए प्रेम भेटी, नदेख्ने ऊ कस्तो ।
गरेनी प्रेम भक्ति, नसुन्ने ऊ कस्तो ।।

जोतेर खेत सम्म, हराभरा बाली !
ओहो! प्रेम खेती नगर्ने ऊ कस्तो ।।

आहा !बर्सूलाँ साउन, रसिलो जल ,
रोप प्रेम भन्दा, नगन्ने ऊ कस्तो ।।

जीवन पार लाउने प्रेम हो पुल,
गाँस्न कुन्नि किन नमान्ने ऊ कस्तो ।।

जति गाए, बजाए नि प्रेमको धून,
बरा! शर्मले पो ननाच्ने ऊ कस्तो ।।

गजल

धरतीको एउटा कण म कहाँ जून झार्ने कुरा !
गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा !!

ओइली जाने फूलहरु तिम्रा केशमा सिउरेर,
जान्दिन म मेरो माया त्यो मनमा सार्ने कुरा ।।

ठूला कुरा के नै गर्नु अजम्बरी होइन म नि,
साथ तिम्रो पाए जीवन बिर्सिदिउँला हार्ने कुरा ।।

अलिकति जूनको चमक,थोरै-थोरै फूलको रंग,
जिन्दगीको चाह मेरो होइन त्यसै टार्ने कुरा ।।

सुन्दरताका मूलहरु मनको कुना-कन्दरामा,
गरी भूल मान्दिन म चेतनालाई मार्ने कुरा ।।
गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा !!

Thursday, October 29, 2009

गजल

अर्पिए प्रेम भेटी, नदेख्ने ऊ कस्तो ।
गरेनी प्रेम भक्ति, नसुन्ने ऊ कस्तो ।।

जोतेर खेत सम्म, हराभरा बाली !
ओहो! प्रेम खेती नगर्ने ऊ कस्तो ।।

आहा !बर्सूलाँ साउन, रसिलो जल ,
रोप प्रेम भन्दा, नगन्ने ऊ कस्तो ।।

जीवन पार लाउने प्रेम हो पुल,
गाँस्न कुन्नि किन नमान्ने ऊ कस्तो ।।

जति गाए, बजाए नि प्रेमको धून,
बरा! शर्मले पो ननाच्ने ऊ कस्तो ।।

Saturday, October 24, 2009

गजल

लाटो बोली मेरो गाउने गीत तिम्रो हजुर ।
झुपडी यो मन सजाउने प्रीत तिम्रो हजुर ।।

भत्किजाने बालुवाको बाँध यो होइन,ठानी,
तनको पुष्प जन चढाउने रीत तिम्रो हजुर ।।

कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊ,
खुशी भइ सब रमाउने जीत तिम्रो हजुर ।।

हाहाकार छ सबैतिर खडेरीले सताएको,
पिए थोपा 'बल' जगाउने शीत तिम्रो हजुर ।।

Wednesday, October 21, 2009

पाँच हाइकु

१.रातो बत्तीमा
लुसुक्क बाटो काट्छ
छाडा चौपाया !

२.राता गाल्लीमा
राता मनको भीड
रंग विहीन !

3.नाङ्गो पहाड
बाटो छेकेर बस्छ
काम न काज !

४.पूर्णेको जून
आँखा भरी सजाएँ
प्यासको मूल !

५.चिसा रातमा
सिरकले छोपिए
मन त चिसै !

Monday, October 12, 2009

गजल

छाती भित्र-भित्रै राखी सजाउने रहर मेरो ।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

पवनका लहरमा लहराएको केसराशी ,
फूल सुस्त-सुस्त सजी सुम्सुम्याउने रहर मेरो ।।

गुलाबका पत्र बनी मन हर्ने ती ओंठ ,
भाव मन्द-मन्द बोली फुस्फुसाउने रहर मेरो ।।

मनोरम हिमशैल डुल्दै जीवन कुण्ड,
गीत चिर्बिर-चिर्बिर गाइ गुन्गुनाउने रहर मेरो ।।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

कविता: फर्किने आशमा

आयौ, ढोका खट्खटायौ
ओहो! नभन्दै भित्र पस्यौ
कहिले लुकी-छिपी
कहिले चोरी-छिपी

चिर्बिरायौ, मयूर नाच्यौ
ओहो! नभन्दै लट्ठ बनायौ
घरि-घरी, छम्छमी
असिन-पसिन

गड्गडायौ, झरी बर्सेऊ
ओहो! नभन्दै छपक्क भिजायौ
सपनी-बिपनी
बादल सुन्दर-चंचल

फुलायौ, हावा चलायौ
ओहो! नभन्दै कोपिला खसायौ
हँसायौ-रुवायौ
छाप लायौ

गयौ, ढोका ढप्काइनौ
ओहो! चुपचाप-चुपचाप
न दिन न रात
बात लायौ

अर्को पाटो मनको
रंग-ढंग, तरंग
ओहो! फर्किने आशमा
चलेको सास
संसारको माझ !

खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

असहाए गारिब वस्ती
पहिरोमा सिनित्तै भाँसियो
अनिकालको बेला
बहुलाएको बाढी
पस्यो आँखा चिम्लेर
खेतबारी र घरबारी
बिनाकरण; निर्दोश पिर्यो , लियो ज्यान
समुद्री तुफान मृत्युको शंख सुसेल्दै
उडायो कत्तिका बर्षौं लगाइ
उनेका सपनाका टहरा
यतै कतै म दुखिरहेको थिए
विज्ञानका मोटा किताब भित्र
कारण खोजिरहेको थिए

भित्ताको गोलो घडी हेर्छु र
संकेत गर्छ, अर्को घण्टाको
नजानिंदो पाराले समय घर्केको
म त्यो समय कल्पिन्छु
जहाँ हामी अन्तको प्रतिक्षामा हुनेछौं
डराउछु, अब पृथ्वी
मरभूमी हुनेछ
सारा यी जैविक चीजहरुको
प्रलय हुनेछ
यसलाई बिभिन्न व्याख्याताहरुले
आ-आफ्नै हिसाबले आफू ठूलो देखाउने बहनामा
शब्दमा प्रमाणित गर्नेछन्
विज्ञान भन्छ, यो हरित गृहको प्रभाव हो
धर्म भन्छ, यो भगवानको इच्क्षा हो

मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

ओहो ! आकाशमा उड्ने बस दुर्घटना
ज्यान सधैंकालागि, बिना मोल उडाउने
भिरबाट लडेको बाहनसंगै
कति दूरका यात्रीहरु, बिना संकेत
यात्रामा विराम लाउने
कहिले नउठ्ने गरी, उठे जिन्दगी बोझ
सम्झिन्छु, ती बाहन
जो आकाशबाट यमराज गर्जिन्छन्
र गरीब वस्ती खाक हुन्छन्
कालो मुश्लो उँभो लाग्छ
म सडक किनारै-कीनार
हिडिरहेको छु
सडकमा बाहन बेगसँग
कुदिरहेका छन्
मलाई तिनका हर्न, शंख झै लाग्छन्
अन्तको संकेत नजिक भएझैं
समय यसरी नै कुदिरहेको
संकेत-बिना संकेत
मर्छन्, निर्दोष
व्यख्या हुन्छ
घटनाको, आतंकको वा स्वार्थको

मेरो ध्यान कहीं मोडिन्छ
मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

म कोठामा छु
बिधुतीय सुबिधाका भरमा
संसार भरका खबर हेर्छु
पचाउने कोसिस गर्छु
मान्छे; मान्छेलाई दोष लाइरहेको छ
मान्छे; मान्छेलाई डसिरहेको छ
मान्छे; मान्छेलाई ढाँटिरहेको छ
मान्छे; मान्छेलाई चपाइरहेको छ
आफ्नो स्वार्थकालागि
मान्छे आफू र आफ्नो भगवानलाई
धोका दिइरहेको छ
युद्धको जताततै रन्को छ
कतै मुक्तिको नाममा
कतै रक्षाका नाममा
कतै आफू राज गर्ने नाममा
म डराउछु
अर्को विश्व युद्धको संकेत नहोस !
समय रातको संकेत गर्छ

मेरो टेबल थर्किन्छ
मेरो ध्यान कहीं मोडिन्छ
मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

खबर मेरी प्रेमिकाको हो
एकदिन मैले सोद्धा
उनले भनेकी थिइन-
दुर्घटनामा पर्लौ भनेर
मैले कहाँ झस्काएको हो र !
म अल्मल्ल परेथें
उनको व्याख्या थियो-
पुरुष मेरो मन
कतै रंगीन पच्छेउरीमा अल्झिन सक्छ अरे!
उनलाई इर्ष्या लाग्छ अरे !

Wednesday, October 7, 2009

गीत

दुखेका यी रात बीच स्वप्न बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

थाकेका छन् पाइला मेरा उकाली र ओरालीमा ,
रोएका छन् भाखा मेरा भञ्ज्याङ र चौतारीमा ।
हिमालका आसुँ खोस्न उष्ण बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

खोसेका छन् हाँसो मेरा उज्यालोको नाउँमा ,
डसेका छन् बन्धु मेरा मेरै घर आँगनमा ।
शोकका यी घडी किन दर्शन बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

गजल

जुनी-जुनी साथ दिने मित्र भेटियो ।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

मुर्झाउदै'थ्यो आश तर मन डरेन,
धर्ती-आकाश जोड्ने पुल पत्र भेटियो ।।

कोलाहल दुनिँयाको झेल्नु पर्ने खेल,
जित्ने बाजी अहिंसामै अस्त्र भेटियो ।।

मनको बन्द ढोका खोली छर्ने उज्यालो,
शब्द-शब्द धुन गुन्जिने स्तोत्र भेटियो ।।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

गजल

फूल जस्तो जवानी त्यो, हर्ने मन मेरी ।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।

न हेरु त लाग्छ कतै, यी आँखाको दया ,
सजाए जो कैद देख्छु , पर्ने मन मेरी ।।

शिरमाथि सजाउने, साँचो मनको धोको ,
किन-किन छुन पनि, डर्ने मन मेरी ।।

देख्छु भुन-भुन भँवरा ती, गीत तिम्रो गाउँने ,
लाटो मेरो गीत मनमै , मर्ने मन मेरी ।।

मुस्काउनु पर्छ तिमी , मेरो ओठको भाव,
चमक तिम्रो झिल्का यहाँ , सर्ने मन मेरी ।।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।