Monday, August 23, 2010

वादको बखान

वादको बखान गरेर
निर्विवादको परिकल्पनामा
नयाँ विवादको चुली कसिन्छ
खेतका आली र घरका बर्दालीहरुबाट
मृत्‍युको शंखनाद गरेर
विजयोत्सव मानिन्छ !

अपवाद महरु
आवाद हुनुको श्वेत आकांक्षामा
चाँदनीको शीतलता र
सूर्यको उज्यालोको आगमन
घडीका सुईसँगै
टीक-टीक गनिबस्छौं
तर त्यो पेन्डुलमहरुसँगै
बन्दी बनिन्छ !

एकहूल हामीहरु
पेन्डुलमहरुका खातिर
ज्यानको बाजी लाएर
जिन्दावाद र मुर्दावादको
नादहरु उराल्छौ र
रगत पिपासु, कथित मुक्तिदाता
नूतन स्वादको मजामा
लिप्त भैदिन्छ !

जम्छ आसनमा खाओवाद
र हाम्रा उज्यालाका
कलिला स्वप्निल मुनाहरु
हतकडी लाएर जाक्छ
अँध्यारो गुफातिर
त्यसै कुहाइदिन्छ वा
यमहरुलाई खुवाइदिन्छ !


जागरण भया !
मौलाएको भ्रमवाद र विचलनवादको
भयवाद रसायन
ब्रह्मवादको खोजीले
निर्मलिकरण गर्दै
मानवतावाद झुल्किन्छ कि !

0 comments:

Post a Comment

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !