Saturday, December 5, 2009

मौसम

मौसम पात्तिएको यो
पटक्कै मन नपर्ने पल
खोइ, के भएको आजकाल !
नाङ्गा पहाडहरु भएकाछन्; दलदल
पाइला चाल्नै गार्हो !

बेकामको झरी यो
चिसोको सन्नाटा बोकेर ल्याउने
हिउँदको बर्सिने जल
सडक किनारतिर बगेको भल
बाटोको जाम तमाम !

लागेको खडेरी थलमा
जल,मलको अभाव
उजाड मनहरुको कोलाहल
उर्लँदो खहरे गड्गड
जन,धनको नाश !

हुर्हुराउँदो अग्नी ज्वाला
कलहको आगो झोस्छ,
गन्हाउँछ, कलको मूल
मानवता कलसँग रुमल्लिएको यो समय
बाटो खोज्छ, छलफल !

चलेको आँधी-हुरी,
चराका बस्तीमा हलचल
मनमा उठ्दोछ, ज्वालामुखी
तनमा पसिना खलखल
सुनिन्छ, स्रिजनशील चलमल; कलकल !

Sunday, November 15, 2009

गजल

अर्पिए प्रेम भेटी, नदेख्ने ऊ कस्तो ।
गरेनी प्रेम भक्ति, नसुन्ने ऊ कस्तो ।।

जोतेर खेत सम्म, हराभरा बाली !
ओहो! प्रेम खेती नगर्ने ऊ कस्तो ।।

आहा !बर्सूलाँ साउन, रसिलो जल ,
रोप प्रेम भन्दा, नगन्ने ऊ कस्तो ।।

जीवन पार लाउने प्रेम हो पुल,
गाँस्न कुन्नि किन नमान्ने ऊ कस्तो ।।

जति गाए, बजाए नि प्रेमको धून,
बरा! शर्मले पो ननाच्ने ऊ कस्तो ।।

गजल

धरतीको एउटा कण म कहाँ जून झार्ने कुरा !
गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा !!

ओइली जाने फूलहरु तिम्रा केशमा सिउरेर,
जान्दिन म मेरो माया त्यो मनमा सार्ने कुरा ।।

ठूला कुरा के नै गर्नु अजम्बरी होइन म नि,
साथ तिम्रो पाए जीवन बिर्सिदिउँला हार्ने कुरा ।।

अलिकति जूनको चमक,थोरै-थोरै फूलको रंग,
जिन्दगीको चाह मेरो होइन त्यसै टार्ने कुरा ।।

सुन्दरताका मूलहरु मनको कुना-कन्दरामा,
गरी भूल मान्दिन म चेतनालाई मार्ने कुरा ।।
गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा !!

Thursday, October 29, 2009

गजल

अर्पिए प्रेम भेटी, नदेख्ने ऊ कस्तो ।
गरेनी प्रेम भक्ति, नसुन्ने ऊ कस्तो ।।

जोतेर खेत सम्म, हराभरा बाली !
ओहो! प्रेम खेती नगर्ने ऊ कस्तो ।।

आहा !बर्सूलाँ साउन, रसिलो जल ,
रोप प्रेम भन्दा, नगन्ने ऊ कस्तो ।।

जीवन पार लाउने प्रेम हो पुल,
गाँस्न कुन्नि किन नमान्ने ऊ कस्तो ।।

जति गाए, बजाए नि प्रेमको धून,
बरा! शर्मले पो ननाच्ने ऊ कस्तो ।।

Saturday, October 24, 2009

गजल

लाटो बोली मेरो गाउने गीत तिम्रो हजुर ।
झुपडी यो मन सजाउने प्रीत तिम्रो हजुर ।।

भत्किजाने बालुवाको बाँध यो होइन,ठानी,
तनको पुष्प जन चढाउने रीत तिम्रो हजुर ।।

कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊ,
खुशी भइ सब रमाउने जीत तिम्रो हजुर ।।

हाहाकार छ सबैतिर खडेरीले सताएको,
पिए थोपा 'बल' जगाउने शीत तिम्रो हजुर ।।

Wednesday, October 21, 2009

पाँच हाइकु

१.रातो बत्तीमा
लुसुक्क बाटो काट्छ
छाडा चौपाया !

२.राता गाल्लीमा
राता मनको भीड
रंग विहीन !

3.नाङ्गो पहाड
बाटो छेकेर बस्छ
काम न काज !

४.पूर्णेको जून
आँखा भरी सजाएँ
प्यासको मूल !

५.चिसा रातमा
सिरकले छोपिए
मन त चिसै !

Monday, October 12, 2009

गजल

छाती भित्र-भित्रै राखी सजाउने रहर मेरो ।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

पवनका लहरमा लहराएको केसराशी ,
फूल सुस्त-सुस्त सजी सुम्सुम्याउने रहर मेरो ।।

गुलाबका पत्र बनी मन हर्ने ती ओंठ ,
भाव मन्द-मन्द बोली फुस्फुसाउने रहर मेरो ।।

मनोरम हिमशैल डुल्दै जीवन कुण्ड,
गीत चिर्बिर-चिर्बिर गाइ गुन्गुनाउने रहर मेरो ।।
आँखा भरि-भरी हेरी रमाउने रहर मेरो ।।

कविता: फर्किने आशमा

आयौ, ढोका खट्खटायौ
ओहो! नभन्दै भित्र पस्यौ
कहिले लुकी-छिपी
कहिले चोरी-छिपी

चिर्बिरायौ, मयूर नाच्यौ
ओहो! नभन्दै लट्ठ बनायौ
घरि-घरी, छम्छमी
असिन-पसिन

गड्गडायौ, झरी बर्सेऊ
ओहो! नभन्दै छपक्क भिजायौ
सपनी-बिपनी
बादल सुन्दर-चंचल

फुलायौ, हावा चलायौ
ओहो! नभन्दै कोपिला खसायौ
हँसायौ-रुवायौ
छाप लायौ

गयौ, ढोका ढप्काइनौ
ओहो! चुपचाप-चुपचाप
न दिन न रात
बात लायौ

अर्को पाटो मनको
रंग-ढंग, तरंग
ओहो! फर्किने आशमा
चलेको सास
संसारको माझ !

खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

असहाए गारिब वस्ती
पहिरोमा सिनित्तै भाँसियो
अनिकालको बेला
बहुलाएको बाढी
पस्यो आँखा चिम्लेर
खेतबारी र घरबारी
बिनाकरण; निर्दोश पिर्यो , लियो ज्यान
समुद्री तुफान मृत्युको शंख सुसेल्दै
उडायो कत्तिका बर्षौं लगाइ
उनेका सपनाका टहरा
यतै कतै म दुखिरहेको थिए
विज्ञानका मोटा किताब भित्र
कारण खोजिरहेको थिए

भित्ताको गोलो घडी हेर्छु र
संकेत गर्छ, अर्को घण्टाको
नजानिंदो पाराले समय घर्केको
म त्यो समय कल्पिन्छु
जहाँ हामी अन्तको प्रतिक्षामा हुनेछौं
डराउछु, अब पृथ्वी
मरभूमी हुनेछ
सारा यी जैविक चीजहरुको
प्रलय हुनेछ
यसलाई बिभिन्न व्याख्याताहरुले
आ-आफ्नै हिसाबले आफू ठूलो देखाउने बहनामा
शब्दमा प्रमाणित गर्नेछन्
विज्ञान भन्छ, यो हरित गृहको प्रभाव हो
धर्म भन्छ, यो भगवानको इच्क्षा हो

मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

ओहो ! आकाशमा उड्ने बस दुर्घटना
ज्यान सधैंकालागि, बिना मोल उडाउने
भिरबाट लडेको बाहनसंगै
कति दूरका यात्रीहरु, बिना संकेत
यात्रामा विराम लाउने
कहिले नउठ्ने गरी, उठे जिन्दगी बोझ
सम्झिन्छु, ती बाहन
जो आकाशबाट यमराज गर्जिन्छन्
र गरीब वस्ती खाक हुन्छन्
कालो मुश्लो उँभो लाग्छ
म सडक किनारै-कीनार
हिडिरहेको छु
सडकमा बाहन बेगसँग
कुदिरहेका छन्
मलाई तिनका हर्न, शंख झै लाग्छन्
अन्तको संकेत नजिक भएझैं
समय यसरी नै कुदिरहेको
संकेत-बिना संकेत
मर्छन्, निर्दोष
व्यख्या हुन्छ
घटनाको, आतंकको वा स्वार्थको

मेरो ध्यान कहीं मोडिन्छ
मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

म कोठामा छु
बिधुतीय सुबिधाका भरमा
संसार भरका खबर हेर्छु
पचाउने कोसिस गर्छु
मान्छे; मान्छेलाई दोष लाइरहेको छ
मान्छे; मान्छेलाई डसिरहेको छ
मान्छे; मान्छेलाई ढाँटिरहेको छ
मान्छे; मान्छेलाई चपाइरहेको छ
आफ्नो स्वार्थकालागि
मान्छे आफू र आफ्नो भगवानलाई
धोका दिइरहेको छ
युद्धको जताततै रन्को छ
कतै मुक्तिको नाममा
कतै रक्षाका नाममा
कतै आफू राज गर्ने नाममा
म डराउछु
अर्को विश्व युद्धको संकेत नहोस !
समय रातको संकेत गर्छ

मेरो टेबल थर्किन्छ
मेरो ध्यान कहीं मोडिन्छ
मेरो खल्तीमा भएको यो
सानो संचार साधन तरंगित गर्छ
हेर्छु, खबर छ- 'तिमी आफ्नो ख्याल गर्नु !'

खबर मेरी प्रेमिकाको हो
एकदिन मैले सोद्धा
उनले भनेकी थिइन-
दुर्घटनामा पर्लौ भनेर
मैले कहाँ झस्काएको हो र !
म अल्मल्ल परेथें
उनको व्याख्या थियो-
पुरुष मेरो मन
कतै रंगीन पच्छेउरीमा अल्झिन सक्छ अरे!
उनलाई इर्ष्या लाग्छ अरे !

Wednesday, October 7, 2009

गीत

दुखेका यी रात बीच स्वप्न बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

थाकेका छन् पाइला मेरा उकाली र ओरालीमा ,
रोएका छन् भाखा मेरा भञ्ज्याङ र चौतारीमा ।
हिमालका आसुँ खोस्न उष्ण बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

खोसेका छन् हाँसो मेरा उज्यालोको नाउँमा ,
डसेका छन् बन्धु मेरा मेरै घर आँगनमा ।
शोकका यी घडी किन दर्शन बनी आयौ तिमी ।
प्रश्नका यी खात माझ प्रश्न बनी आयौ तिमी ।।

गजल

जुनी-जुनी साथ दिने मित्र भेटियो ।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

मुर्झाउदै'थ्यो आश तर मन डरेन,
धर्ती-आकाश जोड्ने पुल पत्र भेटियो ।।

कोलाहल दुनिँयाको झेल्नु पर्ने खेल,
जित्ने बाजी अहिंसामै अस्त्र भेटियो ।।

मनको बन्द ढोका खोली छर्ने उज्यालो,
शब्द-शब्द धुन गुन्जिने स्तोत्र भेटियो ।।
समिकरण जिन्दगीको सुत्र भेटियो ।।

गजल

फूल जस्तो जवानी त्यो, हर्ने मन मेरी ।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।

न हेरु त लाग्छ कतै, यी आँखाको दया ,
सजाए जो कैद देख्छु , पर्ने मन मेरी ।।

शिरमाथि सजाउने, साँचो मनको धोको ,
किन-किन छुन पनि, डर्ने मन मेरी ।।

देख्छु भुन-भुन भँवरा ती, गीत तिम्रो गाउँने ,
लाटो मेरो गीत मनमै , मर्ने मन मेरी ।।

मुस्काउनु पर्छ तिमी , मेरो ओठको भाव,
चमक तिम्रो झिल्का यहाँ , सर्ने मन मेरी ।।
नशा-नशा मात रंग, भर्ने मन मेरी ।।

चेतना बन्धकी राखेर !

(कविता)
विश्वासमा बाँच्ने मान्छे हामी
बाँचिदिन्छौ , एक जिन्दगी !

भनेको र सुनेको कुराका भरमा
तर्सिन्छौं हामी जब
अनि पस्छ , साँच्चै गाउँमा भूत
अस्ति , तल्ला घरे खस्यो !
पोहोर , माथ्ला घरे गएथ्यो !
कर्मको खेल हो , भनिऊँ !

सधैं-सधैं गाउँमा जब
आउँदै-लाँदै गर्छ भूत
र लखतरान पार्छ अनि सकाउँछ जीवन लीला
हामी भनिदिन्छौ , भावीको लेखा हो
कसको के लाग्छ !

पुराना मान्यतामा बाँचेका;पछौटे हामी
जब बच्चाको जीउ कुपोषणले सुक्छ
अनि गर्छौ , झार-फुक
जब जवान युवतीको दुख्छ ज्यान; रक्तश्रावले ,
अनि ठान्छौ
लागेको होला , सिमे-भुमे भनेर
खोज्छौ ;झाक्री र ठटाउँछौ; ढ्याङ्ग्रो

अहिले गाउँमा अलिकति शिक्षाको उज्यालो
अलिकती चेतना आयो
फाट्ट-फुट्ट अस्पातल पुगे र
थोरै भए पनि भूत गाउँ पस्न छोडेको बेला
भूत गाउँबाट लखेटिदैं गएको बेला

जिउँदै मान्छे बनेर भूत फेरी
गाउँ , जङ्गल , शहर
जताततै पसिरहेछ
मसानमा बदल्न खोजी रहेछ
देश
तब हामी भूत भगाउन
पुन: निकाल्छौ , ढ्याङ्ग्रो र
ओर्लिन्छौं सडकमा
पुरातनवादी हामी , रक्षा गर्न हाम्रा चलन
भत्काउछौं ;रेलिङ र बाल्छौ; टायर
तर भूत कहिले भाग्दैन
नियम लाग्छ " डार्बिन"को यहाँ
भूत बलिया बन्दै जान्छन्

अब कतिन्जेल यस्ता
हल्लाका भरमा बाँचेर , जिन्दगी ढ्याङ्ग्रो बनाउने
चेतना बन्धकी राखेर !

विज्ञापन : असल, गुणी गोरुको खोजी !

(कविता)
बहर , गोरु अति उपयोगी हुन्
गोबरको मल हुन्छ
खेतमा हाले बालीनाली सप्रिन्छ
जोते खेत उब्जिलो बन्छ
गाडा तान्न लाए , भारीको चिन्ता दूर
गाई बाली बनाइन्छ , अर्को काइदा
भन्नै पर्दैन !

हामी गोरुका सौखिन
कहिले त गोरुसँग आफ्नो इज्जत गँसिन्दिन्छौ
जुधाउछौं गोरु र हेर्छौं रमिता
गोरु र हाम्रो नाता जनम-जनमको
हो त , गोरु पूजा पनि गर्छौ
कृषिमा आश्रित हामी
गोरुमा आश्रित हामी !

जमाना भौतिक युगको
खेत जोत्ने काम , यन्त्रले गर्न शुरु भा'छ
गाडा पनि त पुराना कुरा जस्ता
मल - जैविक, विकासे र के-के !
विकाशोन्मुख देशका हामी
नछोए पनि यिनले
छिटा परेको छ
ठिकै छ ,
गोरुसँगको नाता अनि निर्भरता
कायम छ , बलियो छ !

गोरुका भिन्न-भिन्न जात
पहाडका छोटो कदका गोरु
रोपाइ गर्दा अलि काम नदिने
केही वर्ष अघिको कुरा हो
हाम्रोमा तराइको गोरु पनि एक हल पालियो
पहाडको छदैं थियो

गोरुका व्यवहार फरक-फरक
जुरो फुटेका , नफुटेका
जाति-नजाती , सिङ्ले हान्ने , लात्ताले हिर्काउने
सिंगौरी खेल्ने , कोखाँ हिर्काउने
जे होस्
फुर्तिला , लुरे , जुझारु आदि !
रङ -काले, सेते, झाले-माले इत्यादि !

हाम्रो घ्ररमा कहिले जोडा मिलाउन सकेनौं , गोरुको
कहिले ज्यान मिलाए , आपसमै लड्ने
कहिले फुर्तिला भेट्टाए , उचाइ नमिन्ले
कोही पाखोमा चल्ने , हिलोमा थुछुक्कै
कोही हरिया देख्नै नहुने
बार भत्काएरै , अर्काको बारीमा पस्ने

केही पहिले जाती थिए
आजभोलि बुढा भै'सके
जोश त छ तिनमा तर शक्ति छैन
खेत जोत्ने
यी अझै जौ देख्यो कि , काँध थाप्छन्
धर्म संकटमा म
यिनलाई विश्राम दिनु छ
वा कसाइ खानामा !

के गर्ने !
अप्ठ्यारोमा छिमेकी सम्झिनु भन्थे
आफ्ना गोरुले खेत जोत्न नसकेका बेला
छिमेकबाटै भए पनि गोरु लिएर
खेत जोत्ने सुरमा यसपाली !
बाँझो छाडे धर्तीको पाप !

गोरु पीडित म
उचित गोरुको खोजमा अहिले
छापामा विज्ञापन गर्दैछु
असल , गुणी गोरु भए
कृपया, खबर गर्नु !
तपाईंको भलो हुनेछ !

Wednesday, September 30, 2009

सम्झेर ईमेल गरे कि ?

(कविता)
भित्ताको किलामा झुन्डिएको कालो कोटले
मलाई हेर्यो र जिस्क्याउँदै
सोध्यो -
बाबै ! सञ्चै त छौ नि ?
आज दसैंको दिन
खोइ त चहल-पहल ?

म नतमस्तक भएँ
हेरे , एक्लो म , सुनसान कोठा
कम्प्युटरको दुनियाँमा
देश-विदेश घुमिरहेको छु
एलसिडीको पर्दामा
मान्छेहरु आउँछन् , मनका कुरा भन्छन्
म पनि मेरा कुरा प्वाक्क रखिदिन्छु
किबोर्डका अक्षरमाथि चढेर
भन्न मन ला'थ्यो , ठिकै छ भनेर
तर खोइ !

जुरुक्क मेरो कुर्चीबाट म उठें
र सुम्सुम्याए कोट
हेरें बाहिरी खल्ती , भित्री खल्ती
केही कागजका टुक्रा भेटें
लागे डन्किन डुनटको पसलतिर
खाए मफिन र केक

गुलियो मुख लिएर फर्के कोठामा
गुलियोको स्वाद गजब लाग्छ
मन लोभ्याउदै लैजाने
रोग-व्याधी, मधुमेह , दाँत सड्ने
सब बिर्सिने , जान्दा -जान्दै

अर्को भित्तामा केही तस्वीर छन्
ती सब मेरो चर्तिकला
हेरिरहेका छन्
देखेर , नदेखेझैं
मानौं, मैले केही गरेकै छैन

पुन: म दसैंमै फर्किन्छु
जमरा र रङ्ले सजिएका तस्विर देख्छु
इन्टरनेटको जालोमा
सम्झिन्छु , दसैंमा घर
सुनसान छ होला

कोटतिर हेर्छु
भित्ताका तस्विर हेर्छु

सम्झिन्छु , बाल्यकाल
जहाँ, मेरा बा भान्साबाट खाना खान डाकिरहेका थिए मलाई
म भित्तामा झुन्ड्याइ राखेको कोटको खल्तीबाट
सुटुक्क झिक्थे पैसा र दौडिन्थे पसलतिर
कुरा गोप्य रहन्थ्यो
अर्को दिन म नै खुलासा गर्थे
हिजो त यसरी मिठाइ खाइयो भनेर !

सब अब त कल्पना मात्र रह्यो
बा हामीलाई छोडेर , अगस्ट ४ मा जानुभो
शायद , म जवान हुँदै गर्दा छोडेर गएकी
आमालाई भेट्न होलान

कहाँ त्यो त म जान्दिन
तर आज दसैंको दिन
सम्झेर ईमेल गरे कि ?
म एकछिन
ईमेल खोल्छु है त !

Sunday, September 27, 2009

नवीन आविष्कारको घोषणा !

(कविता)
जीवन-एक प्रयोगशाला
म - उत्तराधुनिक प्रयोग कर्मी

पुराना सिद्धान्त, थोत्रा विचार
पहाडझैं अग्ला पीडाका खात
मृत घोषित गर्न र
तिनका अस्थित्वको समप्तिको
शंखघोष गर्न तम्तयार
एक नयाँ आविष्कारको
सन्सनी पूर्ण सफलताको
रहश्यको कथा
बजारमा आएको डकार्दैछु ।

भूमण्डलिकरणको जमानामा
मान्छे कल भएको बेला
आफू ठूलो भएको आडम्बरमा
वक्यौता बाँड्दै गएको बेला
नारी-पुरुषको भेद रहनेछैन

अब नारीहरु ढुक्क भए हुन्छ
यौन पिपाषु पुरुषको भए हटाए हुन्छ
पेटमा गर्भ नबोके हुन्छ

संरक्षणविदहरु , अब तिम्रा
वखान बन्द गरे हुन्छ
खास्साको यो प्रविधिले
रैथाने, अल्प संख्यक जनजाती
लोपोन्मुखहरु चिन्ता नगरे भो

रोग-व्याधीको अचुक उपाए हो
तिम्रै कोष लिएर रोपिनेछ र
पुन: पहिलेकै अवस्था आउनेछ शरीरको मरेको भाग

महिलाहरुले पाठेघर बन्द गरे हुन्छ
निर्धक्क यौनको आगो तापे हुन्छ
पुरुषहरुले पनि पेट बोक्नेछन्
वा प्रयोगशालामा नै दिए हुन्छ
आफ्नै कोषबाट आफू जस्तै जन्मिनेछन् , सन्तान
परिवार नभए हुन्छ
पशु जस्तै
चौबाटो , सडक छेउ ,चौर , समुन्द्री कीनार
यौनको भोक मेटे हुन्छ
शरीरमा लुगा नलाए हुन्छ

दुनियाँमा अब कैयौं 'डली भेंडा' जन्मिनेछन्
महरु , हामीहरु जन्मिनेछन्
र ढोल ठटाउनेछन , आफू हुनुको राग अलाप्दै

मैले एकाधिकार यो प्रविधी लिएर
महान वैज्ञानीक भएको
प्रमाण पत्र हात पारिसके
अब चाँडै प्रयोगकालागी
गरीब देश , विविधता बढी भएका देश
पहिलो प्राथमिकतामा पर्नेछन्
राम्रा-नराम्रा असरकालागि

पर्खिदैं गर्नुस् !

अहिले , म लाग्छु
बाटो मेरो हेरेर
मेरी प्रेमिका आँखा तर्दैहोलिन्
उनी भन्दैथिन् , यसपाली बिहा गर्नुपर्छ
मेरो मलिलो बारीमा , बिऊ रोप्नु पर्छ
अनि सुन्दर दुई फूल फुलाउनु पर्छ
फूलको सुन्दरतामा हामी रम्नु पर्छ

तर आज मेरो वाचा छ
उनलाई , आफ्नै हातले साँझको
खाना पकाएर खुवाउने !

असल-खराब जीवाणु-कीरा पहिचानौं !

(कविता)
मलाई जीवाणु-कीराको माया लाग्छ
मलाई जीवाणु-कीराको डर पनि लाग्छ

पहिचान गर्नु जान्नु पर्छ
उपयोगिता खुट्याउनुपर्छ
यी आँफैमा खराब नहुन पनि सक्लान्
थाहा छ ; व्याक्टेरियाका कैयौं प्रजाती छन्
एकथरी यिनीहरु नाइट्रोजन चक्र सन्चालन गर्छन्
प्रोटिन, डि. एन. ए. , आर. एन. ए.
जीवनको आधार नाइट्रोजन हो
बिरुवा-प्राणी सबैकालागि
व्यक्टेरिया दुधबाट दही बनाउने
व्यक्टेरिया फोहोर सडाउने

यी जीवाणु जहाँ पनि छन्
खेतका गरा-गरामा
हावा-पानीमा, जङ्गल, घर- सबैतिर
उधोग-कलाकारखाना
हाम्रा मुख-पेट जताततै

महत्व एक कोषियदेखि बहु कोषियका आ-आफ्नै
यी नभए जीवन चल्दैन
सृस्टि रोकिन्छ
त्यसैले त , विविधता चाहिन्छ , जैविक
रक्षा गर्नु , संरक्षण गर्नुपर्छ-फाइदाजनकको
जीवाणु-कीरा मिलेर जीवन चक्र चल्छ

जीवाणुले हैजा ल्याउँछ ,
जीवाणुले एड्स ल्याउँछ
कीराले मलेरिया के-के ल्याउँछ
जोगिनुपर्छ , वेफाइजनकबाट

जीवाणु-कीरा, अरु जनावर
मिल्छन् र संसार छ
महत्व आ-आफ्नै

त्यसैले त भन्न मन लाग्छ
म पनि जीवाणु-कीरा , तिमी-हामी सबै त्यहीं त हो नि !
खेतमा गड्यौंला माटो मलिलो पार्ने कीरा
दूध-दही,मोही पार्ने, औधोगिक जीवाणु
विरामी बनाउने , ज्यान लिने जीवाणु
गाउँ-घर , शहर-बजार जीवाणु-कीरा
उधोग-कार्यालय , सिंदरबार-ह्वाइटहाउस
कीरा जताततै
त्यसैले त म भन्छु
बाँच्नु छ भने , असल जीवाणु-कीरा चिनौं
खराब पनि चिनौं
असलको संरक्षण गरौं र मीत गसौं
खराबलाई पर भगाऔं

पहिचानौं कहाँ कुन छ ,
र अबबाट बनौं, होसियार
र जोगाऔं
घर, समाज , देश र प्रकृति !

Thursday, September 24, 2009

कविता (कसरी माफ गर्नु सक्छु !)

निर्मल ती आँखाले
केही हराएको वस्तुझैं
मेरो शिरका रौंदेखि
पैतालासम्म
डुबुल्की मारेर
केही भेटेझैं वा नभेटेझैं
मेरा आँखामा छाँद हाले

मलिन अनुहार
थकित जिउ, मेरो छातीमा
अड्याइन र भनिन, उनले-
के पुरुषका लागि यौन
साँच्चै जैविक आवश्कता नै हो त ?

म अवाक भएँ र सोचे;
पुरुष किन वेश्यालय धाँउछ,
अर्काकी श्रीमतीमा आँखा गाड्छ,
बलात्कार जस्ता कुकर्म गर्छ,
पेट बोकाएर तन्नेरी युवतीको
जीवन वर्वाद बनाउँछ?

भने- यो त महिला र पुरुष
दुवैकालागि त्यही हुनुपर्ने हो
तर
ऊ निर्भिक भएर
लाज पचाएर लत्तो छोडिदिनुमा
उसले पेट नबोक्नु हो

आगोका ज्वाला फाल्न तयार
आक्रोशित उनका आँखा
पुरुषप्रति जागेको घ्रिणाको
एक ज्वाला मतिर फाल्छन्
र रुखो आवाज निस्कन्छ-
भन त म मेरो बुवालाई
कसरी माफ गर्नु सक्छु !

मेरो मानस पटलको आँगनमा
२० वर्षपछि
छोराले बा देख्न पाएको र
हर्षले आँशु खसाएको चित्र
झल्झली खेली रह्यो !
ऊफ् !!!

मुक्तक

(एक)
अग्लिने मनका उजाड पाखाहरुमा हरिया रुख रोप्दै मुस्कुराउनु ।
नागबेली मनका धमिला नालाहरुमा पानीले धुँदै मुस्कुराउनु ।।
यसपालिको दसैंमा के दिनु शुभकामना तपाईंहरुलाई अरु त ,
विभाजित हाम्रो देशमा एकताको बलियो पुल बाँध्दै मुस्कुराउनु ।।

(दुई)
समस्या जो हाम्रो, फाल्ने उक्ति मिलोस ।
पछिका पुस्ताले नि मान्ने जुक्ति मिलोस ।
मेरो गोरुको बार्है टक्का भन्नेलाई,यो दसैंमा ,
एक टक्का अरुको नि ठान्ने शक्ति मिलोस !

Wednesday, September 23, 2009

मनभित्रका ती दसैं (संस्मरण)

यसपाली हाम्रो बा खस्नु भो । घरमा दसैं त मनाइन्न , तर मेरो मन भने दशैंमा भिजेको छ । जताततै दसैंको चर्चाले । मन हल्का पार्न म पुराना दिन सम्झने कोसिस गर्दैछु । गम्छु , ती मैले छाडेका पाइलाका छापहरु मनमा उतारेर यता लेख्ने प्रयासमा । आहा , ती दिन ! अब नफर्केलान । त्यसैले त यादमा बाँच्छौ हामी , भन्छु फर्किनु पनि हुन्न । नभए खल्लो हुन्छ ।
हाम्रोतिर दसैं त्यती धेरै धुमधामसँग त मनाइदैन , बरु तिहारमा बढी रौनक छाउँछ । तर पनि दसैंको एक आफ्नै महत्व छ । म अहिले घरका भित्ता माथि कमेरो र तल रातो माटो र झ्याल-ढोका कालो माटोले पोतेको सम्झिन्छु । त्यो माटोको बास्ना महसुस गर्छु । त्यो हाम्रो माटोको सुगन्ध ! घरबाट टाढा गएका मान्छे घर फर्किने क्रम र मिलनको आशमा पर्खिरहेका बुढा बाबु-आमा र लोग्नेको न्यानो अंगालोको प्रतिक्षामा हराइरहेका ती दिदी-बहिनी सम्झिन्छु । हाम्रो बाबा आउने भनेर; नयाँ लुगा, जुत्ता , मीठा खानेकुरा ल्याउने लोभमा, उफ्रिदैं खेलिरहेका बाल-बालिका , साथीहरुसँग धाक लाउँदै गरेका ती निश्छल अनुहार देख्छु । भन्छु , त्यो मिठो कल्पना - जीवन जीउने आश, प्राकृतिक नियम जस्तो छ । गरिबी , पीडा आ-आफ्नै ठाउँमा डेरा गरी बसेका छन् । त्यस्को अर्कै कोलाहल छ । खेतका कान्ला र बारीमा भएका रुखहरुमा बाबियो वा परालले बनाएका पिङहरु झुण्ड्याउदैं गरेका जवान युवा-युवतीको उमंग , लोभलाग्दो छ । सम्झिन्छु, पिङ मच्चाएर उड्ने रहर । यी त भए दसैंलाई स्वागत गर्दैका । मेरा मनमा धार्मिक पक्ष बाहेक डेरा जमाएका कुरा ।
दसैंलाई धार्मिक रुपमा मूल्यांकन गरेर मनाउने-नमनाउने पक्षमा पनि व्यापक बहस छेडिएको छ , अचेल । त्यो पक्षमा म नजाऊ अहिले । त्यो भविश्य निर्धारण गर्ला । तर शरद ॠतुका ती दिनको , हाम्रो जस्तो कृषि प्रधान देशमा दसैं एक फुर्सदको पर्वको रुपमा मैले देखेको हो । अहिले सुखद शुक्रबार भने जस्तो । बाली भित्राएर पुन: गाउँलेहरु खेत जोत्ने , मल ओसर्ने , बीऊ छर्ने जोहोको पनि चिन्तामा होलान । यी सब कुराका बीच आउने दसैंको त्यो रमणीय बेला , मन चस्स छोएर जान्छ । बस, म याद मात्र गर्न सक्छु अहिले । रंगीचंगी फूलहरुको मगमग सुवाष ।
यी कल्पनामा म डुबेर निक्लने मिथ्या गरिरहेछु । झन भासिंदै गैरहेछु । मेरा पुराना दसैंको खोजमा । दुइटा दसैं , जो मेरा आफ्ना निजी भएर मलाई चिमोट्छन् , जिस्क्याउछन् घरि-घरी । म त्यता जाने जमर्को गर्छु । म त्यहाँबाट प्रत्यक्ष , टिपोट गर्छु अब ।
पहिलो , त्यो बेला म ठ्याक्कै कति वर्षको थिए; भन्न सक्तिन । तर दसको हाराहारी हुनुपर्छ । हामी केटा-केटीहरु घर बाहिर भएका को-को दसैंमा घर आउँछन भन्दै लेखजोखा गर्थ्यौं । बाहिर भन्दा विशेष गरेर भारततिर गएकाको कुरा हो । प्राय: हाम्रो गाउँबाट दिल्ली, पंजाब र बम्बइतिर जान्थे , जवान लोग्ने मान्छेहरु । मेरो माहिलो दाई पनि त्यो बेला दिल्लीमा काम गर्थे , कोठीमा । चिठी आएथ्यो , दसैंमा घर आउने खबर लिएर । क-कसकोमा चिठीले खबर ल्यायो , त्यही हुन्थ्यो ; दसैं अघिको चर्चा । यसपाली फलानो-फलानो आउने वा नआउने । मन फुरुङग भा'थ्यो , खबरले । दाई आउनु'भो , मलाई उतैबाट एकजोर लुगा ल्याइदिनु भयो । हातमा एक रिकर्डर पनि बोकेर ल्याउनु भएछ । आहा! त्यो समातेर छिमेकमा डुल्दै , देउडा गीत घन्काएर हाम्रो दादाले ल्याएको भनेर धाक लाएको , त्यो बालापन ! त्याँ सम्म त राम्रै थियो । हाम्रा घर नजिकै एक मन्दिर छ , काठले बनाएको । त्यहाँ साँझ-बिहान थकाइ मार्ने र गफ चुट्ने काम हुन्थ्यो । हाम्रा पल्ला घरका बाजे , सधैं भजन गाउँथे र हामी पनि उनीसँगै हरे राम ! हरे कृष्ण ! गाउँथ्यौ । बडो आनन्दका साथ । एक साँझ म रिकर्डर बोकेर त्यहीं पुगे । केही खुट्किला उक्लिनु पर्ने थियो , उक्लिंदा मेरो काँधबाट त्यो बोल्ने बस्तु खस्यो र बोली बन्द भयो । मेरो होस उड्यो । हल्ला फिंजियो , दाई आए । धन्न कुटाइ खाइएन । कठै! त्यो अन्जानपन । मन खान्छ ।
दोस्रो , त्यो बेला म काठमाण्डुमा थिए । २०५८ सालतिरको कुरा हो । त्यो बेला म त्रिचन्द्र कलेजमा वातावरण विज्ञानको विधार्थी थिए । इन्जिनिएरिङ्ग पढ्ने इच्क्षा थियो , तर पुल्चोकमा नाम निकाल्न सकिएन । मन खिन्न भा'थ्यो , घर जान मन लागेन वा भनौं अलिअलि ठेस लागेको थियो । पहिलोपल्ट जीवनमा , प्रयास असफल भएकोमा । जाँगर चलेन , घर जान र त्यतै बस्ने निर्णय गरें । सुनसान भएको थियो , राजधानी । हामी केही साथीहरु बिजुलीबजार नजिक एक जना थपलियाका घरमा भाडामा बस्थ्यौ । केही साथीहरुले उनैबाट टीका थाप्ने भन्दै थिए । मचाहिं बिहानै लागे सिनेमा घरतिर । दिउँसो लाग्ने फिल्मको टिकट काटे । प्रेम, मारकाट आदि फिल्म छाडेर , मैले छाने बाघबान । अमिताभ र हेमाको फिल्म । यस्तै तीन घण्टा भन्दा बढीको फिल्म थियो । म त्यहीं कतै हराए । मेरो मन मेरा गाउँका सारा घर-घर पुग्यो र सन्तान तिनका र बाउ-आमासँग एकछिन बसेर भलाकुसारी गरेर आयो । उनीहरुका जिन्दगीका कथाहरुसँग साइनो गाँसेर । कल्पेथें राज र पूजा कसैले बन्न नपरोस भनेर र एक पाठ सिकेथें । बाहिर निक्लदा सडकमा मान्छेहरुमा दसैंको उमंग थियो , कानमा जमरा, निधारमा टीका र गलामा माला । पुन: दसैं फर्केथ्यो; मेरो दुनियाँमा । यसरी पनि दसैं मनाइयो । मैले सफल भएको ठानें, मेरो दसैं । भारी मन भएथ्यो । चेतनाको झिल्का टिप्ने; त्यो एक बेला थियो । त्यो दसैं मेरालागि सबैभन्दा पछिल्लो थियो । त्यसपछि बाटो अलिकति भुलेथें, क्यारे ! त्यही भन्छु । उज्यालोको खोजी थियो , रचनात्मक भइ बाँच्ने रहर थियो । कहिले त्यो भेउ नपाउँदा वा कहिले असफलताले माया गर्दा , मन कुँडिएथ्यो । केही वर्ष देशमैं छँदा पनि दसैंको साइत जुरेन । त्यसपछि विदेशिएपछि के-के मिलेन ।
जे होस , यो समय बेग्लिएको छ । यो समय न त म पिङ हुँइक्याउने सुरमा छु , न त अरु कुनै फिल्म हेर्ने पक्षमा । बस , तपाईहरु जो दसैं मनाउदै हुनुहुन्छ , म पनि यी अक्षरका माध्यमले यो विधुतिए संसारमा दसैं मनाइरहेको छु । यो बेला एक दसैं; शान्तिको खोजीको दसैं , बहसको दसैं , चेतना बाँड्ने दसैं र हाम्रो मनको कालो हटाउने दसैंको रुपमा लिदैछु । यही मेरो तपाईंहरुलाई कामना पनि छ । सद्बुद्धी सबैमा आओस । हामी, हाम्रो देश र हाम्रा पन बाँचिरहुन । यो दसैं अर्को पल्टकालागि एक अर्को झिल्को बनोस !

Tuesday, September 22, 2009

हाइकु

१. छोरा बिग्रियो
पुर्षाको दोष अरे !
ऊल्लू समाज ।

२. लागेको घाऊ
कोट्यायो , झन बल्झ्यो
जातै बाँदर !

३. अर्काको पीडा
देख्यो , हाँस्यो र नाँच्यो
सभ्य जमात !

Monday, September 21, 2009

हाइकु

१. नलुट डाँका
बनेको बिम्व मेरो;
चन्द्र र सूर्य ।

२. बुद्धको देश
हिमालको आँशुमा,
दुष्टले गर्दा ।


३. विषालु सर्प
मानवको वस्तीमा
बोलीले डस्ने !

हाइकु

१. थुम्का चढे'छि
दुला पस्यो गड्यौंला ।
आहा शीतल !

२. पौड्न नपाए,
माछा पोखरी-ताल ।
संसारै शून्य !

३. घैँटो मुनिको
पवित्र गुफामा छ;
जीवन पथ ।

गीत(के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग)

आफ्नो भनी साँटेथे यो, मन तिमीसँग ।
के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग ।।

स्वच्छ थियो स्वभाव तिम्रो बग्ने झरनाझैं ,
आयौ-गयौ के भनु खैं; बन्यो तिर्षनाझैं ।
तनमा यहाँ छट्पटी छ , मन तिमीसँग ,
के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग ।।

शून्य देख्छु हिंड्ने बाटो , दुनियाँको बोझ ,
आशा देखाइ, जगाइ गयौ , यो मनको सोच ।
आँशु यहाँ वेदनामा, मन तिमीसँग ,
के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग ।।

हाइकु

१. गाउने सधैं
मनको गीत; तिमी
धड्कन मेरो ।

२ कोइली बास्यो
खोज्न जीवन चरी,
बैंशको बेला ।

३ गर्ज्यो बादल
धर्ती चुम्न आतुर ,
पानी भएर ।

हाइकु

१. जति पिए नि
प्यासी बनिने झन ,
तिम्रा अधर ।

२. माछाझैं किन
डुबिरहूँ लाग्ने त्यो ,
तिम्रो पोखरी ।

३. भन्थे बूढाले
नचाख्नु , बानी पर्छ ,
काँचो मासु रे !

Sunday, September 20, 2009

कविता: समुद्री छाल र देश

पूर्वी समुद्र किनारको
बालुवाको गलैंचामा बसेर
पर-परबाट आइरहेका
समुद्रका छालहरु हेर्छु म र देख्छु ,
छालहरुसंगै कैंयौ आकृति
उठिरहेछन् , बिलाइरहेछन्
त्यहीं कतै मेरो देश देख्छु
सबैभन्दा अग्लो छाल
भन्छु , मेरो देश हुनुपर्छ।
छालका लहरहरुमा
म, तिमी र
हाम्रा सपनाहरु
आउँदै , बिलाउँदै गरिरहेका थिए र
किनारलाई रेट्दै
पुन: आँफैंमा समाहित हुँदै
अर्को छालमा परिणत हुन
तछाड-मछाड गरिरहेका थिए ।

माथि आकाशमा
कालो बादल मडाँरिरहेको थियो
भयानक समुद्री तुफानको
संकेत हुनसक्छ
म डराउँछु र
लाग्छु शहरतिर
सुरक्षित भविश्य खोज्न !

Friday, September 18, 2009

लघुकथा : छोरीको साहस

गायत्री हो, उसको नाम । गोरो अनुहार, चिटिक्क परेको छरितो जिउमा सत्र वर्षे जवानी चढेको अनुमान लगाउन कुनै गार्हो पर्दैन । अस्ति भर्खर मात्र हो, उसले प्रौढ कक्षा पास गरेपछि शहरबाट आएका विकासे कार्यकर्तासँग दन बुन्न सिकेकी थिइ । भन्थी , यो सिपलाई गाँउका महिलासम्म पुर्याउने उसको विचार छ । आमा-बुवा सामान्य किसान, घरमा थुप्रै भाइ-बहिनी छन् । आर्थिक अवश्था राम्रो नभएका कारण उनको विवाह, मावली पट्टिका हजुर-बाले गर्ने गरी घरमा फैसला भयो । र विवाहको तयारी पनि अगाडी बढ्यो । सुरुमै उनले; आफू अहिले बिहा नगर्ने कुरा सुनाएकी थिइन तर कसैले सुनी दिएन । जवान छोरी, बिहे नगरि के गर्ने त भन्ने जवाफ आयो ।
घर नजिकै उसका मामाको टेलिफोनको पसल छ । केही कामले अन्त जानु परे मामा उनलाई त्यहाँ बस्न बोलाई राख्छन् । भोली जन्ती आउने दिन भएकोले सबै जना बिहाको सामानको जोडजाम गरिरहेका थिए । त्यसैले आज पनि फोन हेर्ने जिम्मा उसकोमा आएको छ । करिब दिउँसोको ३-४ बजेतिर एक फोन आउँछ । उनी सोध्छिन- कहाँबाट हो ? म फलानो बोलेको - दुलहाको बुवाको आवाज थियो । उनले भने - तयारी कस्तो भइरहेको छ भनेर सोध्न खोजेको, को छन त्यता घरमा ?
उनले आत्तिएझैं गरेर भनिन् - ओहो! के गर्नु; हाम्रो त पल्लो घरमा हजुर-आमा बित्नु भएर सबै मलामी गा'छन् लोग्ने मान्छे जति । त्यसैले बिहा अहिलेलाई स्थगित गर्नु पर्ने भो, जुठो परेर ।
साँझ पर्दै थियो, जब उनले कथा सुनाइन् दिउँसोको । घरका सब तीनछक परे र उनलाई गाली गर्न थाले । अर्को दिन साँच्चै बिहा आएन । शोक व्यक्त गर्न जब केटाका बुवा त्यहाँ पुगे त, अवश्था देखेर अचम्म परे । केटी पक्षले बिहा गर्न अर्को मिति तय गरौं भन्दा केटा पक्षले , त्यो केटीसँग बिहा नगर्ने जनाए । यता केटी पक्षकामा बदनाम गर्यौ कुलको भन्ने आरोप लगाउन थाले उनलाई ।
उनको साहस देखेर सबै खासखुस गर्छन्, अचेल । जताततै गाउँभरि हल्ला छ- उसले त अर्कै केटा रोजेकी छे रे ! कतै शहरअतिर पढ्दै छ अरे !

Thursday, September 17, 2009

मुक्तक

१. नपिउने मान्छे म, कहिले काँही पर्दा पिएथें बस ।
ढुंगा भन्थे मेरो मन, एक्लो हुँदा मात्र रोएथें बस ।
एक गति थियो मेरो, भन्थे म- नहार्ने मान्छे हुँ,
शक्ति जो तिम्रो; त्यो मायाको, त्यहीं एक हारेथें बस ।

२. बसन्तले बहार ल्यायो प्रकृतिमा रंग आयो ।
हराएको कोइली धुनमा अचानकै ढंग आयो ।
हिउँद-शरद गर्दा-गर्दै थाकेका थे मेरा पाइला ,
बुटी; तिम्रै प्रेम रसले एकाएकै उमंग आयो ।

मुक्तक

१. बढाउँदा पाइला यात्राका एक बिहानी याद आयो ।
पल्टाउँदा पाना जिन्दगीका एक कहाँनी याद आयो ।
जहाँ हामी केही पाइला साथ हिडेंर बिदा भएथें,
धत्! बिर्सुँ भन्यो झन भिंजेको जवानी याद आयो । ।

२. देउरालीमा खाको कसम बिर्सियौ कि कसो ।
जवानीको जालमा कतै अल्झियौ कि कसो । ।
आउन छोड्यो खबर तिम्रो, काँ छौ परदेशी,
त्यतै कतै बजारमा बाँडियौ कि कसो । ।

Sunday, September 13, 2009

लघुकथा

धन्न मादल बजेन !
दाई अलिकति भित्र सरिदिनुस् , दिदी अलिकति भित्र ल... आउनुस् , आउनुस्... नयँबानेश्वर, तिन्कुने, कोटेश्वर ! खलासी व्यस्त छ, मान्छे बस भित्र हुल्न र भाडा उठाउनमा । "कति हुल्न लागेको यो मोराले, श्वास फेर्न गार्हो भैसक्यो । हिंडा न चाँडो" एक अधबैंशे महिलाको आक्रोश । "अफिसको बेला छ , के गर्नु सबै जानै पर्‍यो !" खलासी भन्छ । म पनि ठेलिदैं चढें । यस्तैमा गाडी गुड्छ, सडक पछ्याउँदै । बसभित्र ठेलाठेल छ । यो समय जहिले पनि यस्तै हो । कर्मचारीलाई काममा पुग्न हतार छ । विधार्थीहरुलाई स्कुल र क्याम्पस पुग्न हतार छ । सब आ-आफ्नै धुन, गन्तव्यमा छन् । कति प्रेमिकाको एकहोरो प्रेममा परेर, एक झल्को पाउन पनि चढेका होलान् । बेरोजगार आज त रोजगार पाउला कि भनेर धाउँदै होलान् । चाकडी बाज , चाँडो मालिकको अगाडि हाजिर हुन हतारिएको होला । जे होस् , बसको यात्रा सबैकालागि जरुरी नै छ । मलाई हरिबंशको गीत याद आयो - साझा बसमा जो पनि चढ्दछ... यसरी नै जीवन अगाडि बढिरहेको छ ।
रफ्तारमा गुडिरहेको बसको बेगले यात्रुहरु यताउति हुत्तिरहेका छन् । सबैलाई उभिन हम्मे-हम्मे परिरहेको छ । मान्छे-मन्छेको बिचको दूरी ठ्याम्मै छैन भन्दा पनि हुन्छ । मेरो पछाडि एक जना कानमा मुन्द्रा झुन्ड्याएको युवक छ , उसको हाउभाउ देख्दै ऊ आफूलाई आधुनिक भनिरहेको हो भन्ने छुट्याउन गार्हो पर्दैन । अघि कराउने ती महिला तिनकै छेउमा छिन् । हामी बससँगै गुडिरहेका छौं । केही बेरपछि ती महिला फेरि फुस्फुसाइन् । यतिबेला चाँहि के भनिन, राम्रो सँग सुन्न सकिएन । तर उनको आवाजमा कम्पन थियो । मैले उनीतिर फर्केर हेरे । उनको निधारमा चिट्-चिट पसिना निस्केका थिए । उनी त्यस युवकलाई घोरिएर हेरिरहेकी थिइन । युवक घोप्टो मुन्टो लाएर अवाक थियो ।
रिसको आवेगमै उनले सोधिन्, "तिम्रो घरमा दिदी-बहिनी छैनन्?" उसले टाउको हल्लायो , मैले छन् भन्ने बुझें । उनले थपिन्-" तिम्रा हात र हातका औंला सार्है सिपालु रहेछन्, गीतार बजाउछौं ? " उनले पुन: भनिन्-" हेर गीतार बजाउनेलाई भेटें मलाई पनि राम्रो सँग मादल ठटाउन आँउछ । अहिले मादल बजाए सब नाच्लान् बसमा, तिमीलाई देखेर । त्यसैले बजाउँदिन । अबदेखि होस गर्नु , मैले माफ गरे !"
खलासी करायो- "कोटेश्वर , कोटेश्वर ! झर्ने अगाडी आउनुस् ल !" उनी ओर्लिनतिर लागिन् । धन्न मादल बजेन ! धन्य नारी !

Friday, September 11, 2009

हाइकु

१. छोड्नै गार्होभो'
माया होइन मित्र
चुरौटे लत ।

२. भेटै नहुने
घनिष्ठ बन्धु पनि
नपिए पछी ।

३. नशै नशामा
भुल्ने सबका सब
मूर्खको खेल !

हाइकु

साँचो बोल्नमा
के को कन्जुस्याँइ हो?
कौडी पर्दैन!

झांगिने प्रेम
रंगी-चंगी जीवन
विश्वाश गरे ।

सम्बन्ध सारा
लोक-परलोकका
आस्थाको जालो ।

Thursday, September 10, 2009

गजल

असल हौ तिमीलाई ठानी प्रीत लाइदिए ।
बहार त्यो आउँला भनी प्रीत लाइदिए ।।

फूल रोपी हिंडेंथे म काँडा उम्रेछौ ,
घोच तिमी पुगेसरी प्रीत लाइदिए ।।

काँध हाली अघि लाए आशनमा पुग्यौ,
छल अब अन्धो मानी प्रीत लाइदिए ।

उज्यालोको लागि थियो बाजी ज्यानको,
छर कालो ध्रिष्ट बनी प्रीत लाइदिए ।

नँगिने जनता सामु आउनेछ दिन ,
सही बस्लान् नसोच पाजी प्रीत लाइदिए ।

Wednesday, September 9, 2009

पाँच हाइकु

१. हरियो बन
हो नेपालको धन
किराले खाए ।

२. देशको शान
सगरमाथा मुनी
पुड्के जनता ।

३. वीर हौं हामी
गाउँछौं गाथा पुरानो
आफूमैं लडी ।

४. नयाँ नेपाल
किरा, धमिरा, घुन
नौलो स्वागत ।

५. ब्वाँसा, स्यालको
जैविक विविधता
फैल्यो क्रान्तिले ।

Tuesday, September 8, 2009

हाइकु

जति कसेनी
झन चुँडिने डर
प्रेमको गाँठो ।

जाकिदै गयो
मन झनै प्रफूल्ल
प्रेम जालमा ।

जति नजिक
उति बढ्ने धड्कन
प्रेममा पर्दा ।

सपनीमै हो
साथ उनको पाए,
कट्टु भिजेछ !

हाइकु

खायो सत्ता नै
काशी गए मिल्छ है
परमानन्द !

घोच्यो नभन्नु
उखान-टुक्का बोलेको ।
जोकर केपी !

होश गर है
बबुरो कुर्ची ढल्ला ।
बामे सरे'छि !

गीत (अब मलाई रम्न देऊ)

धेरै भयो एकान्तमा अब मलाई रम्न देऊ,
थोपा-थोपा शीत बनि अब मलाई झर्न देऊ।

कर्कलाको पातमा जीवन टल्पलएझैं लाग्छ,
लिनु-दिनु यहाँ के छ शन्तिनै भए पुग्छ।

चिप्लेटिमा प्रीत साँट्दै खोला उर्ली बगेकैछ,
बर्षा वा हिउँद किन सुख-दु:ख सहेकैछ।

नभाँछ त्यो कोपिलालाई; सुन्दर फूल बन्छ,
पाप होइन, पूण्य सोच यो मनले भन्छ।

पराइको डाह गरी आफ्नो आत्मा किन मार्छौ,
शिशिरको पातझैं किन ओइली झर्छौ।

नाता जोडी भाईचाराको, नदी तर्ने पुल बन ,
धुवाँ-धूलो मयल झार्ने, सफा-स्वच्छ मूल बन ।।

गजल

रुप तिम्रो चाँदनीझैं हेरिरहूँ जस्तो लाग्छ ।
ओठ तिम्रा गुलाबी ती चुमिरहूँ जस्तो लाग्छ ।।

कम्मर भा'को बारुली त्यो सून्दर खम्बामा,
वशन्तको लता जस्तै झुलिरहूँ जस्तो लाग्छ ।

फुली नाकको चमक दिने हेरि-हेरी कन,
मोहिनी त्यो चक्षु तालमा पौडीरहूँ जस्तो लाग्छ ।

छेउ तिम्रो पुगिकन असिन-पसिन बन्दा,
छाँयामुनि ज्यानको लौ बसिरहूँ जस्तो लाग्छ ।

डाँडा-बेसी, खोचतिर नजरको तीर लाग्दा,
सौम्य त्यो हिमशैलमा खेलिरहूँ जस्तो लाग्छ ।

उफ्रि-उफ्री हरिनझैं खेल्दा थके पछि पनि,
डाँडामुनि चौतारीमै बसिरहूँ जस्तो लाग्छ ।

Monday, September 7, 2009

कविता

यस्तै हो भने
एक सय चार वर्ष, राणाले देश चलाए
आफ्नो ढुकुटी भरे, जनता नाङा बनाए
तीस बर्ष पञ्चे आए, ती अघाए
त्यसपछि ऊ आयो, सबै आए ।
तिमी जङ्लमै थियौ , भन्यौ-
ती सब फटाहा हुन,
देश मैले चलाउनु पर्छ,
जनतालाई फकायौ,
तिम्रो मुक्तिदाता मै हो भनेर,
हो त , तिमीलाई पनि चुनेर पठाए,
समय कुद्दै गयो, तिमी पनि
धेरै दिन सिटमा बस्न सकेनौ,
तिमीले भनेऊ- फेरी हाम्लाई लखटे,
अहिले फेरि उनीहरु छन, देश चलाउनमा
उहिले पञ्चायत कालमा ति पनि
त्यसै भनेर आएका थिए ,
वाचा गरेर, अर्कै काम गर्नु,
जनता मर्न दिएर, आफू मोटाउनु,
सबैले यही देखे, यही सिके
प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र
गजब गर्यौ, सब आफ्नै तन्त्र बनायौ,
नत्र त अलिकति तिम्रा पालामा
जाजरकोटमा झाडापखालाको
औषधिपुगेको हुनुपर्ने हो ,
देशको सिमाना मिचिदा,
तिमीलाई पनि छटपटी हुनुपर्ने हो ,
झगडा गर्नमा , भागबण्डा लगाउनमा
आफ्ना, पराइ छुट्याउनमा
ब्यस्त रह्यौ काम भन्दा कुरानै फलाक्यौ,
यस्तै हो भने किन मान्छे मार्नु
जनतालाई दु:ख दिनु
के क्रान्तिका कुरा गर्नु,
अबबाट आऊ सबै
आफू खाने कुरा गरौं,
छोरा नभए छोरी खुवाऔँ,
जनता मरे के भो,
देश त्यही सत्ता चलाउनु न हो ।
पातकीहरुले!

Sunday, September 6, 2009

विदेशमा जादू !


परदेशको काम यस्तै हो । दिनभरी घोटियो, जश कहिले पाउने होइन । बिहान सात देखि साँझ सात सम्मको ड्युटी सकाएर के. बी. कोठामा पुग्छ र थकाइ मार्न ओछ्यानमा पल्टिन्छ । सम्झिन्छ घरमा सिन्को नभाँचेको कुरा र आउँछ श्रीमतीको याद ।

तीन वर्ष जस्तै भयो, ऊ विदेश गएर काम गर्न थालेको । १२ घण्टा दिनमा काम बजायो , दिउँसो एक घण्टा खाने फुर्सद मात्र हो । नभए खुट्टा बिसाउन पाउने होइन । अलिकति थकाइ मार्न खोज्न; साहू र आफूभन्दा माथिका कामदारको आँखा छल्न सके मात्र हो , नत्र बर्सिन्छ गालीको पर्रो । भन्नै नमिल्न्ने। कहिले काहीं त दिक्क नलागेको पनि होइन उस्लाई । तर हुँदाखँदाको यत्ति धेरै पैसाको काम छोडेर घर जान नसकेर मात्र हो । हुन त घर, देश सम्झ्यो झन दिक्क लागेर आउँछ । जहिले ईन्टरनेटमा समाचारका साइट खोल्यो कि बन्द-हड्ताल, मर्ने-मार्ने, चोरी-डकैती र नेताका फुस्रा भाषण बाहेक केही देखिने होइन । त्यसैलै चित्त बुझायो, काम गर्‍यो ।
केही गर्दा पनि हालत उँभो लागेन देशमा उस्को । ब्यापार गर्‍यो , त्यतै घाटा । जागिर गर्‍यो, दुई छाक खान र एक सरो लाउन नपुग्ने । त्यसैले ऊ एक पल्ट त जादू सिक्न काली बाबाको आश्रम पनि धाएकै हो । सबैतिर हरेश खाएर ऊ विदेश हानिएको थियो । कारखानाको काम छुटेपछि उस्ले नयाँ काम थालेको पनि हप्ता दिन बित्न लागेको छ । घरमा काम फेर्ने कुरा भएपछि कुरा हुन पाएको थिएन, उसको ।
त्यसैले आज ऊ फोन गर्ने निधो गर्छ र मोबाइलको बटन थिच्छ । 'सञ्चै हुनुहुन्छ?' उही पारिचित आवाज । सन्चो-विसन्चो आदि । अनि श्रीमतीले सोधेकी थिइन , अहिलेको कामका बारे । उनले अलि गम्भिर हुँदै भने -'राम्रै छ, जादू गर्छु दिनभर र पैसा बटुल्छु डलरमा । ' उनी अचम्म परिन र सोधिन-' साँञ्चै! त्यता पनि जादू हेर्छन र मान्छेले ?' हाँस्दै उस्ले भन्यो - "किन नहेर्नु ! मेरो जादू जो छ !" "कस्तो जादू चल्छ त त्यता" फेरी जिज्ञाशा । जबर्जस्ती हाँसो मिसाएर उनले भने-" बीस-बीस इट्टा र सिमेन्टका भारी , दुई-दुई मिनटमै दश-दश तला माथि पुर्याइदिन्छु । ठेकेदार दङ पर्छ र दिनको तीन हजार ने.रु. फाल्छ । गजब छैन त मेरो जादू ! "
यत्तिकैमा फोनमा अर्को आवाज सुनिन्छ, मिठो गरी-" यु डु नट ह्याभ इनफ क्रेडिट, प्लिज ...

केही हाइकु

घैँटो मुनिको
पवित्र गुफामा छ;
जीवन पथ ।

पौड्न नपाए,
माछा पोखरी-ताल ।
संसारै शून्य !

थुम्का चढे'छि
दुला पस्यो गड्यौंला ।
आहा शीतल !

गजल

पिलाएर विष , रोगी बनाए देश ।
लुटेर ढुकुटी , जोगी बनाए देश ।।

नाचे दलाल सारा , सडक-सदनमै ,
मासु जति चिथोरी , हड्डी बनाए देश ।।

बेचे जतिथ्यो श्रोत , अमूल्य खजाना,
छोप्न लाज गार्हो , नाङ्गी बनाए देश ।।

परे शरण जो ढोगीं लागेर दक्षिण ,
भुलेर पुर्षे शान, होची बनाए देश ।।

दुख्यो देश टन्टन, उठ्यो चेत ज्वाला ,
टिक्दैन बैरी हेर्नु, भुंग्री बनाए देश ।।

चार हाइकु

मुसाको खोज;
बाघ कजिने जुक्ति!
प्रचण्ड वाणी !

देवी हो छोरी,
आशन दिनु पूण्य ।
गिरि--जा नत्र !

नङ्ग्रा तिखार्न,
अश्त्र बेश अचेल ।
शेरको जप !

लेख न अब;
गोरु ब्यायको कथा ।
मा-ने- प्र.म. भो !

तीन हाइकु

जीउमा लुतो,
अति चिलाउने हो ।
देशमा नेता !

चम्क्यो,बिलायो
थोपा पानी पातमा ।
नेताको बोली !

घुम्छ विदेश,
कुटनीती हो लक्ष्य।
भिखारी ताल!

Tuesday, August 11, 2009

The saddest day of my life!

My father's farewell to this physical world!
Sorry, father! I couldn't be there for your last moment.
Around quarter past five I got a call from my elder brother. He was at hospital that time. He told me that father was sick again and he was feeling hard to breathe. So they took him in district hospital, Dadeldhura. The doctor told to had an operation to remove liquid from his lungs. Around eleven p.m. Korean time , I got another call from my cousin. That shocked me. I was speechless, my eyes were closed. I laid on the bed. I didn't have strenth to move.
That call was the message of father's peace in heaven. I got to know that some two hours after the operation, he took his last breath and left us.
Though he left us; he will be with us forever!
I pray god to take care of his soul.
Peace and harmony!