पूर्वी समुद्र किनारको
बालुवाको गलैंचामा बसेर
पर-परबाट आइरहेका
समुद्रका छालहरु हेर्छु म र देख्छु ,
छालहरुसंगै कैंयौ आकृति
उठिरहेछन् , बिलाइरहेछन्
त्यहीं कतै मेरो देश देख्छु
सबैभन्दा अग्लो छाल
भन्छु , मेरो देश हुनुपर्छ।
छालका लहरहरुमा
म, तिमी र
हाम्रा सपनाहरु
आउँदै , बिलाउँदै गरिरहेका थिए र
किनारलाई रेट्दै
पुन: आँफैंमा समाहित हुँदै
अर्को छालमा परिणत हुन
तछाड-मछाड गरिरहेका थिए ।
माथि आकाशमा
कालो बादल मडाँरिरहेको थियो
भयानक समुद्री तुफानको
संकेत हुनसक्छ
म डराउँछु र
लाग्छु शहरतिर
सुरक्षित भविश्य खोज्न !
~खगेन्द्र अधिकारी ''अमृत"~
14 years ago
एउटा लोभ- लाग्दो कविता> जसले परदेशको समुद्रमा देशको कहाली लाग्दो वर्तमानलाई प्रतिविम्बित गरेको छ् र भन्न सकिन्छ कि कविभित्र चिन्ता र आशङ्काको समुद्र मडारिएको छ् ।
ReplyDelete