Wednesday, September 30, 2009

सम्झेर ईमेल गरे कि ?

(कविता)
भित्ताको किलामा झुन्डिएको कालो कोटले
मलाई हेर्यो र जिस्क्याउँदै
सोध्यो -
बाबै ! सञ्चै त छौ नि ?
आज दसैंको दिन
खोइ त चहल-पहल ?

म नतमस्तक भएँ
हेरे , एक्लो म , सुनसान कोठा
कम्प्युटरको दुनियाँमा
देश-विदेश घुमिरहेको छु
एलसिडीको पर्दामा
मान्छेहरु आउँछन् , मनका कुरा भन्छन्
म पनि मेरा कुरा प्वाक्क रखिदिन्छु
किबोर्डका अक्षरमाथि चढेर
भन्न मन ला'थ्यो , ठिकै छ भनेर
तर खोइ !

जुरुक्क मेरो कुर्चीबाट म उठें
र सुम्सुम्याए कोट
हेरें बाहिरी खल्ती , भित्री खल्ती
केही कागजका टुक्रा भेटें
लागे डन्किन डुनटको पसलतिर
खाए मफिन र केक

गुलियो मुख लिएर फर्के कोठामा
गुलियोको स्वाद गजब लाग्छ
मन लोभ्याउदै लैजाने
रोग-व्याधी, मधुमेह , दाँत सड्ने
सब बिर्सिने , जान्दा -जान्दै

अर्को भित्तामा केही तस्वीर छन्
ती सब मेरो चर्तिकला
हेरिरहेका छन्
देखेर , नदेखेझैं
मानौं, मैले केही गरेकै छैन

पुन: म दसैंमै फर्किन्छु
जमरा र रङ्ले सजिएका तस्विर देख्छु
इन्टरनेटको जालोमा
सम्झिन्छु , दसैंमा घर
सुनसान छ होला

कोटतिर हेर्छु
भित्ताका तस्विर हेर्छु

सम्झिन्छु , बाल्यकाल
जहाँ, मेरा बा भान्साबाट खाना खान डाकिरहेका थिए मलाई
म भित्तामा झुन्ड्याइ राखेको कोटको खल्तीबाट
सुटुक्क झिक्थे पैसा र दौडिन्थे पसलतिर
कुरा गोप्य रहन्थ्यो
अर्को दिन म नै खुलासा गर्थे
हिजो त यसरी मिठाइ खाइयो भनेर !

सब अब त कल्पना मात्र रह्यो
बा हामीलाई छोडेर , अगस्ट ४ मा जानुभो
शायद , म जवान हुँदै गर्दा छोडेर गएकी
आमालाई भेट्न होलान

कहाँ त्यो त म जान्दिन
तर आज दसैंको दिन
सम्झेर ईमेल गरे कि ?
म एकछिन
ईमेल खोल्छु है त !

No comments:

Post a Comment

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !