Sunday, September 6, 2009

विदेशमा जादू !


परदेशको काम यस्तै हो । दिनभरी घोटियो, जश कहिले पाउने होइन । बिहान सात देखि साँझ सात सम्मको ड्युटी सकाएर के. बी. कोठामा पुग्छ र थकाइ मार्न ओछ्यानमा पल्टिन्छ । सम्झिन्छ घरमा सिन्को नभाँचेको कुरा र आउँछ श्रीमतीको याद ।

तीन वर्ष जस्तै भयो, ऊ विदेश गएर काम गर्न थालेको । १२ घण्टा दिनमा काम बजायो , दिउँसो एक घण्टा खाने फुर्सद मात्र हो । नभए खुट्टा बिसाउन पाउने होइन । अलिकति थकाइ मार्न खोज्न; साहू र आफूभन्दा माथिका कामदारको आँखा छल्न सके मात्र हो , नत्र बर्सिन्छ गालीको पर्रो । भन्नै नमिल्न्ने। कहिले काहीं त दिक्क नलागेको पनि होइन उस्लाई । तर हुँदाखँदाको यत्ति धेरै पैसाको काम छोडेर घर जान नसकेर मात्र हो । हुन त घर, देश सम्झ्यो झन दिक्क लागेर आउँछ । जहिले ईन्टरनेटमा समाचारका साइट खोल्यो कि बन्द-हड्ताल, मर्ने-मार्ने, चोरी-डकैती र नेताका फुस्रा भाषण बाहेक केही देखिने होइन । त्यसैलै चित्त बुझायो, काम गर्‍यो ।
केही गर्दा पनि हालत उँभो लागेन देशमा उस्को । ब्यापार गर्‍यो , त्यतै घाटा । जागिर गर्‍यो, दुई छाक खान र एक सरो लाउन नपुग्ने । त्यसैले ऊ एक पल्ट त जादू सिक्न काली बाबाको आश्रम पनि धाएकै हो । सबैतिर हरेश खाएर ऊ विदेश हानिएको थियो । कारखानाको काम छुटेपछि उस्ले नयाँ काम थालेको पनि हप्ता दिन बित्न लागेको छ । घरमा काम फेर्ने कुरा भएपछि कुरा हुन पाएको थिएन, उसको ।
त्यसैले आज ऊ फोन गर्ने निधो गर्छ र मोबाइलको बटन थिच्छ । 'सञ्चै हुनुहुन्छ?' उही पारिचित आवाज । सन्चो-विसन्चो आदि । अनि श्रीमतीले सोधेकी थिइन , अहिलेको कामका बारे । उनले अलि गम्भिर हुँदै भने -'राम्रै छ, जादू गर्छु दिनभर र पैसा बटुल्छु डलरमा । ' उनी अचम्म परिन र सोधिन-' साँञ्चै! त्यता पनि जादू हेर्छन र मान्छेले ?' हाँस्दै उस्ले भन्यो - "किन नहेर्नु ! मेरो जादू जो छ !" "कस्तो जादू चल्छ त त्यता" फेरी जिज्ञाशा । जबर्जस्ती हाँसो मिसाएर उनले भने-" बीस-बीस इट्टा र सिमेन्टका भारी , दुई-दुई मिनटमै दश-दश तला माथि पुर्याइदिन्छु । ठेकेदार दङ पर्छ र दिनको तीन हजार ने.रु. फाल्छ । गजब छैन त मेरो जादू ! "
यत्तिकैमा फोनमा अर्को आवाज सुनिन्छ, मिठो गरी-" यु डु नट ह्याभ इनफ क्रेडिट, प्लिज ...

No comments:

Post a Comment

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !