Sunday, September 13, 2009

लघुकथा

धन्न मादल बजेन !
दाई अलिकति भित्र सरिदिनुस् , दिदी अलिकति भित्र ल... आउनुस् , आउनुस्... नयँबानेश्वर, तिन्कुने, कोटेश्वर ! खलासी व्यस्त छ, मान्छे बस भित्र हुल्न र भाडा उठाउनमा । "कति हुल्न लागेको यो मोराले, श्वास फेर्न गार्हो भैसक्यो । हिंडा न चाँडो" एक अधबैंशे महिलाको आक्रोश । "अफिसको बेला छ , के गर्नु सबै जानै पर्‍यो !" खलासी भन्छ । म पनि ठेलिदैं चढें । यस्तैमा गाडी गुड्छ, सडक पछ्याउँदै । बसभित्र ठेलाठेल छ । यो समय जहिले पनि यस्तै हो । कर्मचारीलाई काममा पुग्न हतार छ । विधार्थीहरुलाई स्कुल र क्याम्पस पुग्न हतार छ । सब आ-आफ्नै धुन, गन्तव्यमा छन् । कति प्रेमिकाको एकहोरो प्रेममा परेर, एक झल्को पाउन पनि चढेका होलान् । बेरोजगार आज त रोजगार पाउला कि भनेर धाउँदै होलान् । चाकडी बाज , चाँडो मालिकको अगाडि हाजिर हुन हतारिएको होला । जे होस् , बसको यात्रा सबैकालागि जरुरी नै छ । मलाई हरिबंशको गीत याद आयो - साझा बसमा जो पनि चढ्दछ... यसरी नै जीवन अगाडि बढिरहेको छ ।
रफ्तारमा गुडिरहेको बसको बेगले यात्रुहरु यताउति हुत्तिरहेका छन् । सबैलाई उभिन हम्मे-हम्मे परिरहेको छ । मान्छे-मन्छेको बिचको दूरी ठ्याम्मै छैन भन्दा पनि हुन्छ । मेरो पछाडि एक जना कानमा मुन्द्रा झुन्ड्याएको युवक छ , उसको हाउभाउ देख्दै ऊ आफूलाई आधुनिक भनिरहेको हो भन्ने छुट्याउन गार्हो पर्दैन । अघि कराउने ती महिला तिनकै छेउमा छिन् । हामी बससँगै गुडिरहेका छौं । केही बेरपछि ती महिला फेरि फुस्फुसाइन् । यतिबेला चाँहि के भनिन, राम्रो सँग सुन्न सकिएन । तर उनको आवाजमा कम्पन थियो । मैले उनीतिर फर्केर हेरे । उनको निधारमा चिट्-चिट पसिना निस्केका थिए । उनी त्यस युवकलाई घोरिएर हेरिरहेकी थिइन । युवक घोप्टो मुन्टो लाएर अवाक थियो ।
रिसको आवेगमै उनले सोधिन्, "तिम्रो घरमा दिदी-बहिनी छैनन्?" उसले टाउको हल्लायो , मैले छन् भन्ने बुझें । उनले थपिन्-" तिम्रा हात र हातका औंला सार्है सिपालु रहेछन्, गीतार बजाउछौं ? " उनले पुन: भनिन्-" हेर गीतार बजाउनेलाई भेटें मलाई पनि राम्रो सँग मादल ठटाउन आँउछ । अहिले मादल बजाए सब नाच्लान् बसमा, तिमीलाई देखेर । त्यसैले बजाउँदिन । अबदेखि होस गर्नु , मैले माफ गरे !"
खलासी करायो- "कोटेश्वर , कोटेश्वर ! झर्ने अगाडी आउनुस् ल !" उनी ओर्लिनतिर लागिन् । धन्न मादल बजेन ! धन्य नारी !

No comments:

Post a Comment

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !