Friday, September 18, 2009

लघुकथा : छोरीको साहस

गायत्री हो, उसको नाम । गोरो अनुहार, चिटिक्क परेको छरितो जिउमा सत्र वर्षे जवानी चढेको अनुमान लगाउन कुनै गार्हो पर्दैन । अस्ति भर्खर मात्र हो, उसले प्रौढ कक्षा पास गरेपछि शहरबाट आएका विकासे कार्यकर्तासँग दन बुन्न सिकेकी थिइ । भन्थी , यो सिपलाई गाँउका महिलासम्म पुर्याउने उसको विचार छ । आमा-बुवा सामान्य किसान, घरमा थुप्रै भाइ-बहिनी छन् । आर्थिक अवश्था राम्रो नभएका कारण उनको विवाह, मावली पट्टिका हजुर-बाले गर्ने गरी घरमा फैसला भयो । र विवाहको तयारी पनि अगाडी बढ्यो । सुरुमै उनले; आफू अहिले बिहा नगर्ने कुरा सुनाएकी थिइन तर कसैले सुनी दिएन । जवान छोरी, बिहे नगरि के गर्ने त भन्ने जवाफ आयो ।
घर नजिकै उसका मामाको टेलिफोनको पसल छ । केही कामले अन्त जानु परे मामा उनलाई त्यहाँ बस्न बोलाई राख्छन् । भोली जन्ती आउने दिन भएकोले सबै जना बिहाको सामानको जोडजाम गरिरहेका थिए । त्यसैले आज पनि फोन हेर्ने जिम्मा उसकोमा आएको छ । करिब दिउँसोको ३-४ बजेतिर एक फोन आउँछ । उनी सोध्छिन- कहाँबाट हो ? म फलानो बोलेको - दुलहाको बुवाको आवाज थियो । उनले भने - तयारी कस्तो भइरहेको छ भनेर सोध्न खोजेको, को छन त्यता घरमा ?
उनले आत्तिएझैं गरेर भनिन् - ओहो! के गर्नु; हाम्रो त पल्लो घरमा हजुर-आमा बित्नु भएर सबै मलामी गा'छन् लोग्ने मान्छे जति । त्यसैले बिहा अहिलेलाई स्थगित गर्नु पर्ने भो, जुठो परेर ।
साँझ पर्दै थियो, जब उनले कथा सुनाइन् दिउँसोको । घरका सब तीनछक परे र उनलाई गाली गर्न थाले । अर्को दिन साँच्चै बिहा आएन । शोक व्यक्त गर्न जब केटाका बुवा त्यहाँ पुगे त, अवश्था देखेर अचम्म परे । केटी पक्षले बिहा गर्न अर्को मिति तय गरौं भन्दा केटा पक्षले , त्यो केटीसँग बिहा नगर्ने जनाए । यता केटी पक्षकामा बदनाम गर्यौ कुलको भन्ने आरोप लगाउन थाले उनलाई ।
उनको साहस देखेर सबै खासखुस गर्छन्, अचेल । जताततै गाउँभरि हल्ला छ- उसले त अर्कै केटा रोजेकी छे रे ! कतै शहरअतिर पढ्दै छ अरे !

No comments:

Post a Comment

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !