Thursday, September 24, 2009

कविता (कसरी माफ गर्नु सक्छु !)

निर्मल ती आँखाले
केही हराएको वस्तुझैं
मेरो शिरका रौंदेखि
पैतालासम्म
डुबुल्की मारेर
केही भेटेझैं वा नभेटेझैं
मेरा आँखामा छाँद हाले

मलिन अनुहार
थकित जिउ, मेरो छातीमा
अड्याइन र भनिन, उनले-
के पुरुषका लागि यौन
साँच्चै जैविक आवश्कता नै हो त ?

म अवाक भएँ र सोचे;
पुरुष किन वेश्यालय धाँउछ,
अर्काकी श्रीमतीमा आँखा गाड्छ,
बलात्कार जस्ता कुकर्म गर्छ,
पेट बोकाएर तन्नेरी युवतीको
जीवन वर्वाद बनाउँछ?

भने- यो त महिला र पुरुष
दुवैकालागि त्यही हुनुपर्ने हो
तर
ऊ निर्भिक भएर
लाज पचाएर लत्तो छोडिदिनुमा
उसले पेट नबोक्नु हो

आगोका ज्वाला फाल्न तयार
आक्रोशित उनका आँखा
पुरुषप्रति जागेको घ्रिणाको
एक ज्वाला मतिर फाल्छन्
र रुखो आवाज निस्कन्छ-
भन त म मेरो बुवालाई
कसरी माफ गर्नु सक्छु !

मेरो मानस पटलको आँगनमा
२० वर्षपछि
छोराले बा देख्न पाएको र
हर्षले आँशु खसाएको चित्र
झल्झली खेली रह्यो !
ऊफ् !!!

No comments:

Post a Comment

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !