Wednesday, September 23, 2009

मनभित्रका ती दसैं (संस्मरण)

यसपाली हाम्रो बा खस्नु भो । घरमा दसैं त मनाइन्न , तर मेरो मन भने दशैंमा भिजेको छ । जताततै दसैंको चर्चाले । मन हल्का पार्न म पुराना दिन सम्झने कोसिस गर्दैछु । गम्छु , ती मैले छाडेका पाइलाका छापहरु मनमा उतारेर यता लेख्ने प्रयासमा । आहा , ती दिन ! अब नफर्केलान । त्यसैले त यादमा बाँच्छौ हामी , भन्छु फर्किनु पनि हुन्न । नभए खल्लो हुन्छ ।
हाम्रोतिर दसैं त्यती धेरै धुमधामसँग त मनाइदैन , बरु तिहारमा बढी रौनक छाउँछ । तर पनि दसैंको एक आफ्नै महत्व छ । म अहिले घरका भित्ता माथि कमेरो र तल रातो माटो र झ्याल-ढोका कालो माटोले पोतेको सम्झिन्छु । त्यो माटोको बास्ना महसुस गर्छु । त्यो हाम्रो माटोको सुगन्ध ! घरबाट टाढा गएका मान्छे घर फर्किने क्रम र मिलनको आशमा पर्खिरहेका बुढा बाबु-आमा र लोग्नेको न्यानो अंगालोको प्रतिक्षामा हराइरहेका ती दिदी-बहिनी सम्झिन्छु । हाम्रो बाबा आउने भनेर; नयाँ लुगा, जुत्ता , मीठा खानेकुरा ल्याउने लोभमा, उफ्रिदैं खेलिरहेका बाल-बालिका , साथीहरुसँग धाक लाउँदै गरेका ती निश्छल अनुहार देख्छु । भन्छु , त्यो मिठो कल्पना - जीवन जीउने आश, प्राकृतिक नियम जस्तो छ । गरिबी , पीडा आ-आफ्नै ठाउँमा डेरा गरी बसेका छन् । त्यस्को अर्कै कोलाहल छ । खेतका कान्ला र बारीमा भएका रुखहरुमा बाबियो वा परालले बनाएका पिङहरु झुण्ड्याउदैं गरेका जवान युवा-युवतीको उमंग , लोभलाग्दो छ । सम्झिन्छु, पिङ मच्चाएर उड्ने रहर । यी त भए दसैंलाई स्वागत गर्दैका । मेरा मनमा धार्मिक पक्ष बाहेक डेरा जमाएका कुरा ।
दसैंलाई धार्मिक रुपमा मूल्यांकन गरेर मनाउने-नमनाउने पक्षमा पनि व्यापक बहस छेडिएको छ , अचेल । त्यो पक्षमा म नजाऊ अहिले । त्यो भविश्य निर्धारण गर्ला । तर शरद ॠतुका ती दिनको , हाम्रो जस्तो कृषि प्रधान देशमा दसैं एक फुर्सदको पर्वको रुपमा मैले देखेको हो । अहिले सुखद शुक्रबार भने जस्तो । बाली भित्राएर पुन: गाउँलेहरु खेत जोत्ने , मल ओसर्ने , बीऊ छर्ने जोहोको पनि चिन्तामा होलान । यी सब कुराका बीच आउने दसैंको त्यो रमणीय बेला , मन चस्स छोएर जान्छ । बस, म याद मात्र गर्न सक्छु अहिले । रंगीचंगी फूलहरुको मगमग सुवाष ।
यी कल्पनामा म डुबेर निक्लने मिथ्या गरिरहेछु । झन भासिंदै गैरहेछु । मेरा पुराना दसैंको खोजमा । दुइटा दसैं , जो मेरा आफ्ना निजी भएर मलाई चिमोट्छन् , जिस्क्याउछन् घरि-घरी । म त्यता जाने जमर्को गर्छु । म त्यहाँबाट प्रत्यक्ष , टिपोट गर्छु अब ।
पहिलो , त्यो बेला म ठ्याक्कै कति वर्षको थिए; भन्न सक्तिन । तर दसको हाराहारी हुनुपर्छ । हामी केटा-केटीहरु घर बाहिर भएका को-को दसैंमा घर आउँछन भन्दै लेखजोखा गर्थ्यौं । बाहिर भन्दा विशेष गरेर भारततिर गएकाको कुरा हो । प्राय: हाम्रो गाउँबाट दिल्ली, पंजाब र बम्बइतिर जान्थे , जवान लोग्ने मान्छेहरु । मेरो माहिलो दाई पनि त्यो बेला दिल्लीमा काम गर्थे , कोठीमा । चिठी आएथ्यो , दसैंमा घर आउने खबर लिएर । क-कसकोमा चिठीले खबर ल्यायो , त्यही हुन्थ्यो ; दसैं अघिको चर्चा । यसपाली फलानो-फलानो आउने वा नआउने । मन फुरुङग भा'थ्यो , खबरले । दाई आउनु'भो , मलाई उतैबाट एकजोर लुगा ल्याइदिनु भयो । हातमा एक रिकर्डर पनि बोकेर ल्याउनु भएछ । आहा! त्यो समातेर छिमेकमा डुल्दै , देउडा गीत घन्काएर हाम्रो दादाले ल्याएको भनेर धाक लाएको , त्यो बालापन ! त्याँ सम्म त राम्रै थियो । हाम्रा घर नजिकै एक मन्दिर छ , काठले बनाएको । त्यहाँ साँझ-बिहान थकाइ मार्ने र गफ चुट्ने काम हुन्थ्यो । हाम्रा पल्ला घरका बाजे , सधैं भजन गाउँथे र हामी पनि उनीसँगै हरे राम ! हरे कृष्ण ! गाउँथ्यौ । बडो आनन्दका साथ । एक साँझ म रिकर्डर बोकेर त्यहीं पुगे । केही खुट्किला उक्लिनु पर्ने थियो , उक्लिंदा मेरो काँधबाट त्यो बोल्ने बस्तु खस्यो र बोली बन्द भयो । मेरो होस उड्यो । हल्ला फिंजियो , दाई आए । धन्न कुटाइ खाइएन । कठै! त्यो अन्जानपन । मन खान्छ ।
दोस्रो , त्यो बेला म काठमाण्डुमा थिए । २०५८ सालतिरको कुरा हो । त्यो बेला म त्रिचन्द्र कलेजमा वातावरण विज्ञानको विधार्थी थिए । इन्जिनिएरिङ्ग पढ्ने इच्क्षा थियो , तर पुल्चोकमा नाम निकाल्न सकिएन । मन खिन्न भा'थ्यो , घर जान मन लागेन वा भनौं अलिअलि ठेस लागेको थियो । पहिलोपल्ट जीवनमा , प्रयास असफल भएकोमा । जाँगर चलेन , घर जान र त्यतै बस्ने निर्णय गरें । सुनसान भएको थियो , राजधानी । हामी केही साथीहरु बिजुलीबजार नजिक एक जना थपलियाका घरमा भाडामा बस्थ्यौ । केही साथीहरुले उनैबाट टीका थाप्ने भन्दै थिए । मचाहिं बिहानै लागे सिनेमा घरतिर । दिउँसो लाग्ने फिल्मको टिकट काटे । प्रेम, मारकाट आदि फिल्म छाडेर , मैले छाने बाघबान । अमिताभ र हेमाको फिल्म । यस्तै तीन घण्टा भन्दा बढीको फिल्म थियो । म त्यहीं कतै हराए । मेरो मन मेरा गाउँका सारा घर-घर पुग्यो र सन्तान तिनका र बाउ-आमासँग एकछिन बसेर भलाकुसारी गरेर आयो । उनीहरुका जिन्दगीका कथाहरुसँग साइनो गाँसेर । कल्पेथें राज र पूजा कसैले बन्न नपरोस भनेर र एक पाठ सिकेथें । बाहिर निक्लदा सडकमा मान्छेहरुमा दसैंको उमंग थियो , कानमा जमरा, निधारमा टीका र गलामा माला । पुन: दसैं फर्केथ्यो; मेरो दुनियाँमा । यसरी पनि दसैं मनाइयो । मैले सफल भएको ठानें, मेरो दसैं । भारी मन भएथ्यो । चेतनाको झिल्का टिप्ने; त्यो एक बेला थियो । त्यो दसैं मेरालागि सबैभन्दा पछिल्लो थियो । त्यसपछि बाटो अलिकति भुलेथें, क्यारे ! त्यही भन्छु । उज्यालोको खोजी थियो , रचनात्मक भइ बाँच्ने रहर थियो । कहिले त्यो भेउ नपाउँदा वा कहिले असफलताले माया गर्दा , मन कुँडिएथ्यो । केही वर्ष देशमैं छँदा पनि दसैंको साइत जुरेन । त्यसपछि विदेशिएपछि के-के मिलेन ।
जे होस , यो समय बेग्लिएको छ । यो समय न त म पिङ हुँइक्याउने सुरमा छु , न त अरु कुनै फिल्म हेर्ने पक्षमा । बस , तपाईहरु जो दसैं मनाउदै हुनुहुन्छ , म पनि यी अक्षरका माध्यमले यो विधुतिए संसारमा दसैं मनाइरहेको छु । यो बेला एक दसैं; शान्तिको खोजीको दसैं , बहसको दसैं , चेतना बाँड्ने दसैं र हाम्रो मनको कालो हटाउने दसैंको रुपमा लिदैछु । यही मेरो तपाईंहरुलाई कामना पनि छ । सद्बुद्धी सबैमा आओस । हामी, हाम्रो देश र हाम्रा पन बाँचिरहुन । यो दसैं अर्को पल्टकालागि एक अर्को झिल्को बनोस !

1 comment:

  1. The way to share every moments will be made alive by blogging.
    Keep on writing!

    ReplyDelete

कृपया, पढिसकेपछि केही लेख्न नभुल्न अनुरोध !