Wednesday, September 30, 2009

सम्झेर ईमेल गरे कि ?

(कविता)
भित्ताको किलामा झुन्डिएको कालो कोटले
मलाई हेर्यो र जिस्क्याउँदै
सोध्यो -
बाबै ! सञ्चै त छौ नि ?
आज दसैंको दिन
खोइ त चहल-पहल ?

म नतमस्तक भएँ
हेरे , एक्लो म , सुनसान कोठा
कम्प्युटरको दुनियाँमा
देश-विदेश घुमिरहेको छु
एलसिडीको पर्दामा
मान्छेहरु आउँछन् , मनका कुरा भन्छन्
म पनि मेरा कुरा प्वाक्क रखिदिन्छु
किबोर्डका अक्षरमाथि चढेर
भन्न मन ला'थ्यो , ठिकै छ भनेर
तर खोइ !

जुरुक्क मेरो कुर्चीबाट म उठें
र सुम्सुम्याए कोट
हेरें बाहिरी खल्ती , भित्री खल्ती
केही कागजका टुक्रा भेटें
लागे डन्किन डुनटको पसलतिर
खाए मफिन र केक

गुलियो मुख लिएर फर्के कोठामा
गुलियोको स्वाद गजब लाग्छ
मन लोभ्याउदै लैजाने
रोग-व्याधी, मधुमेह , दाँत सड्ने
सब बिर्सिने , जान्दा -जान्दै

अर्को भित्तामा केही तस्वीर छन्
ती सब मेरो चर्तिकला
हेरिरहेका छन्
देखेर , नदेखेझैं
मानौं, मैले केही गरेकै छैन

पुन: म दसैंमै फर्किन्छु
जमरा र रङ्ले सजिएका तस्विर देख्छु
इन्टरनेटको जालोमा
सम्झिन्छु , दसैंमा घर
सुनसान छ होला

कोटतिर हेर्छु
भित्ताका तस्विर हेर्छु

सम्झिन्छु , बाल्यकाल
जहाँ, मेरा बा भान्साबाट खाना खान डाकिरहेका थिए मलाई
म भित्तामा झुन्ड्याइ राखेको कोटको खल्तीबाट
सुटुक्क झिक्थे पैसा र दौडिन्थे पसलतिर
कुरा गोप्य रहन्थ्यो
अर्को दिन म नै खुलासा गर्थे
हिजो त यसरी मिठाइ खाइयो भनेर !

सब अब त कल्पना मात्र रह्यो
बा हामीलाई छोडेर , अगस्ट ४ मा जानुभो
शायद , म जवान हुँदै गर्दा छोडेर गएकी
आमालाई भेट्न होलान

कहाँ त्यो त म जान्दिन
तर आज दसैंको दिन
सम्झेर ईमेल गरे कि ?
म एकछिन
ईमेल खोल्छु है त !

Sunday, September 27, 2009

नवीन आविष्कारको घोषणा !

(कविता)
जीवन-एक प्रयोगशाला
म - उत्तराधुनिक प्रयोग कर्मी

पुराना सिद्धान्त, थोत्रा विचार
पहाडझैं अग्ला पीडाका खात
मृत घोषित गर्न र
तिनका अस्थित्वको समप्तिको
शंखघोष गर्न तम्तयार
एक नयाँ आविष्कारको
सन्सनी पूर्ण सफलताको
रहश्यको कथा
बजारमा आएको डकार्दैछु ।

भूमण्डलिकरणको जमानामा
मान्छे कल भएको बेला
आफू ठूलो भएको आडम्बरमा
वक्यौता बाँड्दै गएको बेला
नारी-पुरुषको भेद रहनेछैन

अब नारीहरु ढुक्क भए हुन्छ
यौन पिपाषु पुरुषको भए हटाए हुन्छ
पेटमा गर्भ नबोके हुन्छ

संरक्षणविदहरु , अब तिम्रा
वखान बन्द गरे हुन्छ
खास्साको यो प्रविधिले
रैथाने, अल्प संख्यक जनजाती
लोपोन्मुखहरु चिन्ता नगरे भो

रोग-व्याधीको अचुक उपाए हो
तिम्रै कोष लिएर रोपिनेछ र
पुन: पहिलेकै अवस्था आउनेछ शरीरको मरेको भाग

महिलाहरुले पाठेघर बन्द गरे हुन्छ
निर्धक्क यौनको आगो तापे हुन्छ
पुरुषहरुले पनि पेट बोक्नेछन्
वा प्रयोगशालामा नै दिए हुन्छ
आफ्नै कोषबाट आफू जस्तै जन्मिनेछन् , सन्तान
परिवार नभए हुन्छ
पशु जस्तै
चौबाटो , सडक छेउ ,चौर , समुन्द्री कीनार
यौनको भोक मेटे हुन्छ
शरीरमा लुगा नलाए हुन्छ

दुनियाँमा अब कैयौं 'डली भेंडा' जन्मिनेछन्
महरु , हामीहरु जन्मिनेछन्
र ढोल ठटाउनेछन , आफू हुनुको राग अलाप्दै

मैले एकाधिकार यो प्रविधी लिएर
महान वैज्ञानीक भएको
प्रमाण पत्र हात पारिसके
अब चाँडै प्रयोगकालागी
गरीब देश , विविधता बढी भएका देश
पहिलो प्राथमिकतामा पर्नेछन्
राम्रा-नराम्रा असरकालागि

पर्खिदैं गर्नुस् !

अहिले , म लाग्छु
बाटो मेरो हेरेर
मेरी प्रेमिका आँखा तर्दैहोलिन्
उनी भन्दैथिन् , यसपाली बिहा गर्नुपर्छ
मेरो मलिलो बारीमा , बिऊ रोप्नु पर्छ
अनि सुन्दर दुई फूल फुलाउनु पर्छ
फूलको सुन्दरतामा हामी रम्नु पर्छ

तर आज मेरो वाचा छ
उनलाई , आफ्नै हातले साँझको
खाना पकाएर खुवाउने !

असल-खराब जीवाणु-कीरा पहिचानौं !

(कविता)
मलाई जीवाणु-कीराको माया लाग्छ
मलाई जीवाणु-कीराको डर पनि लाग्छ

पहिचान गर्नु जान्नु पर्छ
उपयोगिता खुट्याउनुपर्छ
यी आँफैमा खराब नहुन पनि सक्लान्
थाहा छ ; व्याक्टेरियाका कैयौं प्रजाती छन्
एकथरी यिनीहरु नाइट्रोजन चक्र सन्चालन गर्छन्
प्रोटिन, डि. एन. ए. , आर. एन. ए.
जीवनको आधार नाइट्रोजन हो
बिरुवा-प्राणी सबैकालागि
व्यक्टेरिया दुधबाट दही बनाउने
व्यक्टेरिया फोहोर सडाउने

यी जीवाणु जहाँ पनि छन्
खेतका गरा-गरामा
हावा-पानीमा, जङ्गल, घर- सबैतिर
उधोग-कलाकारखाना
हाम्रा मुख-पेट जताततै

महत्व एक कोषियदेखि बहु कोषियका आ-आफ्नै
यी नभए जीवन चल्दैन
सृस्टि रोकिन्छ
त्यसैले त , विविधता चाहिन्छ , जैविक
रक्षा गर्नु , संरक्षण गर्नुपर्छ-फाइदाजनकको
जीवाणु-कीरा मिलेर जीवन चक्र चल्छ

जीवाणुले हैजा ल्याउँछ ,
जीवाणुले एड्स ल्याउँछ
कीराले मलेरिया के-के ल्याउँछ
जोगिनुपर्छ , वेफाइजनकबाट

जीवाणु-कीरा, अरु जनावर
मिल्छन् र संसार छ
महत्व आ-आफ्नै

त्यसैले त भन्न मन लाग्छ
म पनि जीवाणु-कीरा , तिमी-हामी सबै त्यहीं त हो नि !
खेतमा गड्यौंला माटो मलिलो पार्ने कीरा
दूध-दही,मोही पार्ने, औधोगिक जीवाणु
विरामी बनाउने , ज्यान लिने जीवाणु
गाउँ-घर , शहर-बजार जीवाणु-कीरा
उधोग-कार्यालय , सिंदरबार-ह्वाइटहाउस
कीरा जताततै
त्यसैले त म भन्छु
बाँच्नु छ भने , असल जीवाणु-कीरा चिनौं
खराब पनि चिनौं
असलको संरक्षण गरौं र मीत गसौं
खराबलाई पर भगाऔं

पहिचानौं कहाँ कुन छ ,
र अबबाट बनौं, होसियार
र जोगाऔं
घर, समाज , देश र प्रकृति !

Thursday, September 24, 2009

कविता (कसरी माफ गर्नु सक्छु !)

निर्मल ती आँखाले
केही हराएको वस्तुझैं
मेरो शिरका रौंदेखि
पैतालासम्म
डुबुल्की मारेर
केही भेटेझैं वा नभेटेझैं
मेरा आँखामा छाँद हाले

मलिन अनुहार
थकित जिउ, मेरो छातीमा
अड्याइन र भनिन, उनले-
के पुरुषका लागि यौन
साँच्चै जैविक आवश्कता नै हो त ?

म अवाक भएँ र सोचे;
पुरुष किन वेश्यालय धाँउछ,
अर्काकी श्रीमतीमा आँखा गाड्छ,
बलात्कार जस्ता कुकर्म गर्छ,
पेट बोकाएर तन्नेरी युवतीको
जीवन वर्वाद बनाउँछ?

भने- यो त महिला र पुरुष
दुवैकालागि त्यही हुनुपर्ने हो
तर
ऊ निर्भिक भएर
लाज पचाएर लत्तो छोडिदिनुमा
उसले पेट नबोक्नु हो

आगोका ज्वाला फाल्न तयार
आक्रोशित उनका आँखा
पुरुषप्रति जागेको घ्रिणाको
एक ज्वाला मतिर फाल्छन्
र रुखो आवाज निस्कन्छ-
भन त म मेरो बुवालाई
कसरी माफ गर्नु सक्छु !

मेरो मानस पटलको आँगनमा
२० वर्षपछि
छोराले बा देख्न पाएको र
हर्षले आँशु खसाएको चित्र
झल्झली खेली रह्यो !
ऊफ् !!!

मुक्तक

(एक)
अग्लिने मनका उजाड पाखाहरुमा हरिया रुख रोप्दै मुस्कुराउनु ।
नागबेली मनका धमिला नालाहरुमा पानीले धुँदै मुस्कुराउनु ।।
यसपालिको दसैंमा के दिनु शुभकामना तपाईंहरुलाई अरु त ,
विभाजित हाम्रो देशमा एकताको बलियो पुल बाँध्दै मुस्कुराउनु ।।

(दुई)
समस्या जो हाम्रो, फाल्ने उक्ति मिलोस ।
पछिका पुस्ताले नि मान्ने जुक्ति मिलोस ।
मेरो गोरुको बार्है टक्का भन्नेलाई,यो दसैंमा ,
एक टक्का अरुको नि ठान्ने शक्ति मिलोस !

Wednesday, September 23, 2009

मनभित्रका ती दसैं (संस्मरण)

यसपाली हाम्रो बा खस्नु भो । घरमा दसैं त मनाइन्न , तर मेरो मन भने दशैंमा भिजेको छ । जताततै दसैंको चर्चाले । मन हल्का पार्न म पुराना दिन सम्झने कोसिस गर्दैछु । गम्छु , ती मैले छाडेका पाइलाका छापहरु मनमा उतारेर यता लेख्ने प्रयासमा । आहा , ती दिन ! अब नफर्केलान । त्यसैले त यादमा बाँच्छौ हामी , भन्छु फर्किनु पनि हुन्न । नभए खल्लो हुन्छ ।
हाम्रोतिर दसैं त्यती धेरै धुमधामसँग त मनाइदैन , बरु तिहारमा बढी रौनक छाउँछ । तर पनि दसैंको एक आफ्नै महत्व छ । म अहिले घरका भित्ता माथि कमेरो र तल रातो माटो र झ्याल-ढोका कालो माटोले पोतेको सम्झिन्छु । त्यो माटोको बास्ना महसुस गर्छु । त्यो हाम्रो माटोको सुगन्ध ! घरबाट टाढा गएका मान्छे घर फर्किने क्रम र मिलनको आशमा पर्खिरहेका बुढा बाबु-आमा र लोग्नेको न्यानो अंगालोको प्रतिक्षामा हराइरहेका ती दिदी-बहिनी सम्झिन्छु । हाम्रो बाबा आउने भनेर; नयाँ लुगा, जुत्ता , मीठा खानेकुरा ल्याउने लोभमा, उफ्रिदैं खेलिरहेका बाल-बालिका , साथीहरुसँग धाक लाउँदै गरेका ती निश्छल अनुहार देख्छु । भन्छु , त्यो मिठो कल्पना - जीवन जीउने आश, प्राकृतिक नियम जस्तो छ । गरिबी , पीडा आ-आफ्नै ठाउँमा डेरा गरी बसेका छन् । त्यस्को अर्कै कोलाहल छ । खेतका कान्ला र बारीमा भएका रुखहरुमा बाबियो वा परालले बनाएका पिङहरु झुण्ड्याउदैं गरेका जवान युवा-युवतीको उमंग , लोभलाग्दो छ । सम्झिन्छु, पिङ मच्चाएर उड्ने रहर । यी त भए दसैंलाई स्वागत गर्दैका । मेरा मनमा धार्मिक पक्ष बाहेक डेरा जमाएका कुरा ।
दसैंलाई धार्मिक रुपमा मूल्यांकन गरेर मनाउने-नमनाउने पक्षमा पनि व्यापक बहस छेडिएको छ , अचेल । त्यो पक्षमा म नजाऊ अहिले । त्यो भविश्य निर्धारण गर्ला । तर शरद ॠतुका ती दिनको , हाम्रो जस्तो कृषि प्रधान देशमा दसैं एक फुर्सदको पर्वको रुपमा मैले देखेको हो । अहिले सुखद शुक्रबार भने जस्तो । बाली भित्राएर पुन: गाउँलेहरु खेत जोत्ने , मल ओसर्ने , बीऊ छर्ने जोहोको पनि चिन्तामा होलान । यी सब कुराका बीच आउने दसैंको त्यो रमणीय बेला , मन चस्स छोएर जान्छ । बस, म याद मात्र गर्न सक्छु अहिले । रंगीचंगी फूलहरुको मगमग सुवाष ।
यी कल्पनामा म डुबेर निक्लने मिथ्या गरिरहेछु । झन भासिंदै गैरहेछु । मेरा पुराना दसैंको खोजमा । दुइटा दसैं , जो मेरा आफ्ना निजी भएर मलाई चिमोट्छन् , जिस्क्याउछन् घरि-घरी । म त्यता जाने जमर्को गर्छु । म त्यहाँबाट प्रत्यक्ष , टिपोट गर्छु अब ।
पहिलो , त्यो बेला म ठ्याक्कै कति वर्षको थिए; भन्न सक्तिन । तर दसको हाराहारी हुनुपर्छ । हामी केटा-केटीहरु घर बाहिर भएका को-को दसैंमा घर आउँछन भन्दै लेखजोखा गर्थ्यौं । बाहिर भन्दा विशेष गरेर भारततिर गएकाको कुरा हो । प्राय: हाम्रो गाउँबाट दिल्ली, पंजाब र बम्बइतिर जान्थे , जवान लोग्ने मान्छेहरु । मेरो माहिलो दाई पनि त्यो बेला दिल्लीमा काम गर्थे , कोठीमा । चिठी आएथ्यो , दसैंमा घर आउने खबर लिएर । क-कसकोमा चिठीले खबर ल्यायो , त्यही हुन्थ्यो ; दसैं अघिको चर्चा । यसपाली फलानो-फलानो आउने वा नआउने । मन फुरुङग भा'थ्यो , खबरले । दाई आउनु'भो , मलाई उतैबाट एकजोर लुगा ल्याइदिनु भयो । हातमा एक रिकर्डर पनि बोकेर ल्याउनु भएछ । आहा! त्यो समातेर छिमेकमा डुल्दै , देउडा गीत घन्काएर हाम्रो दादाले ल्याएको भनेर धाक लाएको , त्यो बालापन ! त्याँ सम्म त राम्रै थियो । हाम्रा घर नजिकै एक मन्दिर छ , काठले बनाएको । त्यहाँ साँझ-बिहान थकाइ मार्ने र गफ चुट्ने काम हुन्थ्यो । हाम्रा पल्ला घरका बाजे , सधैं भजन गाउँथे र हामी पनि उनीसँगै हरे राम ! हरे कृष्ण ! गाउँथ्यौ । बडो आनन्दका साथ । एक साँझ म रिकर्डर बोकेर त्यहीं पुगे । केही खुट्किला उक्लिनु पर्ने थियो , उक्लिंदा मेरो काँधबाट त्यो बोल्ने बस्तु खस्यो र बोली बन्द भयो । मेरो होस उड्यो । हल्ला फिंजियो , दाई आए । धन्न कुटाइ खाइएन । कठै! त्यो अन्जानपन । मन खान्छ ।
दोस्रो , त्यो बेला म काठमाण्डुमा थिए । २०५८ सालतिरको कुरा हो । त्यो बेला म त्रिचन्द्र कलेजमा वातावरण विज्ञानको विधार्थी थिए । इन्जिनिएरिङ्ग पढ्ने इच्क्षा थियो , तर पुल्चोकमा नाम निकाल्न सकिएन । मन खिन्न भा'थ्यो , घर जान मन लागेन वा भनौं अलिअलि ठेस लागेको थियो । पहिलोपल्ट जीवनमा , प्रयास असफल भएकोमा । जाँगर चलेन , घर जान र त्यतै बस्ने निर्णय गरें । सुनसान भएको थियो , राजधानी । हामी केही साथीहरु बिजुलीबजार नजिक एक जना थपलियाका घरमा भाडामा बस्थ्यौ । केही साथीहरुले उनैबाट टीका थाप्ने भन्दै थिए । मचाहिं बिहानै लागे सिनेमा घरतिर । दिउँसो लाग्ने फिल्मको टिकट काटे । प्रेम, मारकाट आदि फिल्म छाडेर , मैले छाने बाघबान । अमिताभ र हेमाको फिल्म । यस्तै तीन घण्टा भन्दा बढीको फिल्म थियो । म त्यहीं कतै हराए । मेरो मन मेरा गाउँका सारा घर-घर पुग्यो र सन्तान तिनका र बाउ-आमासँग एकछिन बसेर भलाकुसारी गरेर आयो । उनीहरुका जिन्दगीका कथाहरुसँग साइनो गाँसेर । कल्पेथें राज र पूजा कसैले बन्न नपरोस भनेर र एक पाठ सिकेथें । बाहिर निक्लदा सडकमा मान्छेहरुमा दसैंको उमंग थियो , कानमा जमरा, निधारमा टीका र गलामा माला । पुन: दसैं फर्केथ्यो; मेरो दुनियाँमा । यसरी पनि दसैं मनाइयो । मैले सफल भएको ठानें, मेरो दसैं । भारी मन भएथ्यो । चेतनाको झिल्का टिप्ने; त्यो एक बेला थियो । त्यो दसैं मेरालागि सबैभन्दा पछिल्लो थियो । त्यसपछि बाटो अलिकति भुलेथें, क्यारे ! त्यही भन्छु । उज्यालोको खोजी थियो , रचनात्मक भइ बाँच्ने रहर थियो । कहिले त्यो भेउ नपाउँदा वा कहिले असफलताले माया गर्दा , मन कुँडिएथ्यो । केही वर्ष देशमैं छँदा पनि दसैंको साइत जुरेन । त्यसपछि विदेशिएपछि के-के मिलेन ।
जे होस , यो समय बेग्लिएको छ । यो समय न त म पिङ हुँइक्याउने सुरमा छु , न त अरु कुनै फिल्म हेर्ने पक्षमा । बस , तपाईहरु जो दसैं मनाउदै हुनुहुन्छ , म पनि यी अक्षरका माध्यमले यो विधुतिए संसारमा दसैं मनाइरहेको छु । यो बेला एक दसैं; शान्तिको खोजीको दसैं , बहसको दसैं , चेतना बाँड्ने दसैं र हाम्रो मनको कालो हटाउने दसैंको रुपमा लिदैछु । यही मेरो तपाईंहरुलाई कामना पनि छ । सद्बुद्धी सबैमा आओस । हामी, हाम्रो देश र हाम्रा पन बाँचिरहुन । यो दसैं अर्को पल्टकालागि एक अर्को झिल्को बनोस !

Tuesday, September 22, 2009

हाइकु

१. छोरा बिग्रियो
पुर्षाको दोष अरे !
ऊल्लू समाज ।

२. लागेको घाऊ
कोट्यायो , झन बल्झ्यो
जातै बाँदर !

३. अर्काको पीडा
देख्यो , हाँस्यो र नाँच्यो
सभ्य जमात !

Monday, September 21, 2009

हाइकु

१. नलुट डाँका
बनेको बिम्व मेरो;
चन्द्र र सूर्य ।

२. बुद्धको देश
हिमालको आँशुमा,
दुष्टले गर्दा ।


३. विषालु सर्प
मानवको वस्तीमा
बोलीले डस्ने !

हाइकु

१. थुम्का चढे'छि
दुला पस्यो गड्यौंला ।
आहा शीतल !

२. पौड्न नपाए,
माछा पोखरी-ताल ।
संसारै शून्य !

३. घैँटो मुनिको
पवित्र गुफामा छ;
जीवन पथ ।

गीत(के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग)

आफ्नो भनी साँटेथे यो, मन तिमीसँग ।
के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग ।।

स्वच्छ थियो स्वभाव तिम्रो बग्ने झरनाझैं ,
आयौ-गयौ के भनु खैं; बन्यो तिर्षनाझैं ।
तनमा यहाँ छट्पटी छ , मन तिमीसँग ,
के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग ।।

शून्य देख्छु हिंड्ने बाटो , दुनियाँको बोझ ,
आशा देखाइ, जगाइ गयौ , यो मनको सोच ।
आँशु यहाँ वेदनामा, मन तिमीसँग ,
के भनुँ म निष्ठुरी हौ, भन तिमीसँग ।।

हाइकु

१. गाउने सधैं
मनको गीत; तिमी
धड्कन मेरो ।

२ कोइली बास्यो
खोज्न जीवन चरी,
बैंशको बेला ।

३ गर्ज्यो बादल
धर्ती चुम्न आतुर ,
पानी भएर ।

हाइकु

१. जति पिए नि
प्यासी बनिने झन ,
तिम्रा अधर ।

२. माछाझैं किन
डुबिरहूँ लाग्ने त्यो ,
तिम्रो पोखरी ।

३. भन्थे बूढाले
नचाख्नु , बानी पर्छ ,
काँचो मासु रे !

Sunday, September 20, 2009

कविता: समुद्री छाल र देश

पूर्वी समुद्र किनारको
बालुवाको गलैंचामा बसेर
पर-परबाट आइरहेका
समुद्रका छालहरु हेर्छु म र देख्छु ,
छालहरुसंगै कैंयौ आकृति
उठिरहेछन् , बिलाइरहेछन्
त्यहीं कतै मेरो देश देख्छु
सबैभन्दा अग्लो छाल
भन्छु , मेरो देश हुनुपर्छ।
छालका लहरहरुमा
म, तिमी र
हाम्रा सपनाहरु
आउँदै , बिलाउँदै गरिरहेका थिए र
किनारलाई रेट्दै
पुन: आँफैंमा समाहित हुँदै
अर्को छालमा परिणत हुन
तछाड-मछाड गरिरहेका थिए ।

माथि आकाशमा
कालो बादल मडाँरिरहेको थियो
भयानक समुद्री तुफानको
संकेत हुनसक्छ
म डराउँछु र
लाग्छु शहरतिर
सुरक्षित भविश्य खोज्न !

Friday, September 18, 2009

लघुकथा : छोरीको साहस

गायत्री हो, उसको नाम । गोरो अनुहार, चिटिक्क परेको छरितो जिउमा सत्र वर्षे जवानी चढेको अनुमान लगाउन कुनै गार्हो पर्दैन । अस्ति भर्खर मात्र हो, उसले प्रौढ कक्षा पास गरेपछि शहरबाट आएका विकासे कार्यकर्तासँग दन बुन्न सिकेकी थिइ । भन्थी , यो सिपलाई गाँउका महिलासम्म पुर्याउने उसको विचार छ । आमा-बुवा सामान्य किसान, घरमा थुप्रै भाइ-बहिनी छन् । आर्थिक अवश्था राम्रो नभएका कारण उनको विवाह, मावली पट्टिका हजुर-बाले गर्ने गरी घरमा फैसला भयो । र विवाहको तयारी पनि अगाडी बढ्यो । सुरुमै उनले; आफू अहिले बिहा नगर्ने कुरा सुनाएकी थिइन तर कसैले सुनी दिएन । जवान छोरी, बिहे नगरि के गर्ने त भन्ने जवाफ आयो ।
घर नजिकै उसका मामाको टेलिफोनको पसल छ । केही कामले अन्त जानु परे मामा उनलाई त्यहाँ बस्न बोलाई राख्छन् । भोली जन्ती आउने दिन भएकोले सबै जना बिहाको सामानको जोडजाम गरिरहेका थिए । त्यसैले आज पनि फोन हेर्ने जिम्मा उसकोमा आएको छ । करिब दिउँसोको ३-४ बजेतिर एक फोन आउँछ । उनी सोध्छिन- कहाँबाट हो ? म फलानो बोलेको - दुलहाको बुवाको आवाज थियो । उनले भने - तयारी कस्तो भइरहेको छ भनेर सोध्न खोजेको, को छन त्यता घरमा ?
उनले आत्तिएझैं गरेर भनिन् - ओहो! के गर्नु; हाम्रो त पल्लो घरमा हजुर-आमा बित्नु भएर सबै मलामी गा'छन् लोग्ने मान्छे जति । त्यसैले बिहा अहिलेलाई स्थगित गर्नु पर्ने भो, जुठो परेर ।
साँझ पर्दै थियो, जब उनले कथा सुनाइन् दिउँसोको । घरका सब तीनछक परे र उनलाई गाली गर्न थाले । अर्को दिन साँच्चै बिहा आएन । शोक व्यक्त गर्न जब केटाका बुवा त्यहाँ पुगे त, अवश्था देखेर अचम्म परे । केटी पक्षले बिहा गर्न अर्को मिति तय गरौं भन्दा केटा पक्षले , त्यो केटीसँग बिहा नगर्ने जनाए । यता केटी पक्षकामा बदनाम गर्यौ कुलको भन्ने आरोप लगाउन थाले उनलाई ।
उनको साहस देखेर सबै खासखुस गर्छन्, अचेल । जताततै गाउँभरि हल्ला छ- उसले त अर्कै केटा रोजेकी छे रे ! कतै शहरअतिर पढ्दै छ अरे !

Thursday, September 17, 2009

मुक्तक

१. नपिउने मान्छे म, कहिले काँही पर्दा पिएथें बस ।
ढुंगा भन्थे मेरो मन, एक्लो हुँदा मात्र रोएथें बस ।
एक गति थियो मेरो, भन्थे म- नहार्ने मान्छे हुँ,
शक्ति जो तिम्रो; त्यो मायाको, त्यहीं एक हारेथें बस ।

२. बसन्तले बहार ल्यायो प्रकृतिमा रंग आयो ।
हराएको कोइली धुनमा अचानकै ढंग आयो ।
हिउँद-शरद गर्दा-गर्दै थाकेका थे मेरा पाइला ,
बुटी; तिम्रै प्रेम रसले एकाएकै उमंग आयो ।